काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै आएका छन् । सांसदहरूको विरोधका बीच सभा सञ्चालन हुँदै आएको छ । यस्तोमा रास्वपाका सांसदहरूले वेलमा बसेर विरोध गर्दै आएका थिए ।
राप्रपाका सांसदहरू त्यस अगाडि नै बाहिरिएका थिए ।
‘अपराधीलाई कारबाही गर्नुको सट्टा राज्यले बचाउन खोजिरहेको छ’, सांसद नेपालीको प्रश्न छ, ‘यस्तो गम्भीर अपराधमा पनि प्रमुख दुई ठूला दलको सरकार किन मौन छ ? यो सरकारको अपराधिक गिरोहसँग कुनै साँठगाँठ त छैन ?’
आफूहरु कुनै दल वा नेताको विरोधमा नरहेको भन्दै उनले मानव तस्करी, कुशासन र भ्रष्टाचार विरुद्ध अभियानमा रहेको जनाए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको आग्रह छ । यो प्रकरणमा संसदीय छानबिन समिति वा उच्च स्तरीय न्यायीक छानबिन समिति गठन हुनुपर्ने उनको अडान छ । आफूहरुको माग सुनुवाइ नभएको भनेर उनले मन्त्रीको जवाफ नसुन्ने उद्घोष गरे । त्यसपछि सांसदहरू सभाकक्षबाट बाहिरिएका थिए ।


















