काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो कमजोर, लाचार र निरिह सरकार अर्को हुनै नसक्ने जनाएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नै मन्त्रीको घुस प्रकरणको अडियो सार्वजनिक हुँदा समेत प्रधानमन्त्रीले केहि गर्न नसेकेको भन्दै अहिलेको जस्तो कमजोर, लाचार र निरिह सरकार अर्को हुनै नसक्ने बताएका हुन् ।
अहिलेको सरकार कुशासनका लागि गठन भएकाले प्रधानमन्त्रीले मन्त्रीहरुको रक्षा गरेको उनको भनाइ छ । प्रचण्डले मन्त्रीको घुस प्रकरणले देशकै बेइज्जत भएको टिप्पणी गरे ।
‘यो लाजमर्दो कुरा भयो । देशकै बेइज्जत भईराखेको छ, सरकारको त छोड्दिनुस्, सरकार लाज पचाको जस्तो भाछ । तैपनि सुशासन आयोगको अध्यक्ष भएर प्रधानमन्त्री आफैँ बस्ने । आफ्नै क्याविनटेका मन्त्तीहरुको खुलेआम अडियो र भिडियोहरु आउँदा पनि केही गर्न नसक्ने भनेपछि यो भन्दा कमजोर, लाचार र निरिह सरकार अर्को हुनै सक्दैन’– प्रचण्डले भने ।
त्यस्तै प्रचण्डले वर्तमान सरकारले १ बर्षमा शान्तिप्रक्रियाका कामलाई अघि बढाउने बाहेक अरु कुनै सम्झन लायक काम नगरेको प्रतिक्रिया दिए ।
संक्रमणकालीन न्यायसँग सम्बन्धीत बिषयलाई सहज रुपमा टुङ्गाउनुपर्ने आफुहरु प्रष्ट रहेको उनको भनाइ छ ।


















