काठमाडौं । गाईजात्रा पर्वका बेला भक्तपुरमा युवाहरूबिच भएको झडपको भिडिओ भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको आरोपमा भक्तपुर प्रहरीले ललितपुर कोन्ज्योसोम गाउँपालिका-१ घर भई हाल भक्तपुर सूर्यविनायक-६, पाण्डुबजार बस्ने २२ वर्षीय महेश तामाङ, भक्तपुर नगरपालिका-५, भेलुखेल बस्ने ३४ वर्षीय अमन देउला र भक्तपुर नगरपालिका-५, साकोठाका ३४ वर्षीय राज कपालीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार घटना गत आइतबार राति करिब ११:१० बजे भक्तपुर नगरपालिका-५, टौमढीस्थित न्यातपोल मन्दिर (पाँचतले मन्दिर) अगाडि भएको थियो । सार्वजनिक भिडिओमा युवाहरूको समूहले एकअर्कालाई लाठी, मुक्का र लात्तीले क्रूरतापूर्वक प्रहार गरेको देखिन्छ । झडपमा केही व्यक्ति भुइँमा लडेको र उनीहरूमाथि पनि निरन्तर आक्रमण गरिएको दृश्य भिडिओमा कैद छ ।
भिडिओ भाइरल पश्चात सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जात्रा जस्तो सांस्कृतिक गौरवमा दाग लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । केहीले यस्ता कलंकित क्रियाकलापले नेवार समुदायको ऐतिहासिक पर्वको मौलिकता र गरिमामा गम्भीर चोट पुर्याएको धारणा राखेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) डुण्डीराज न्यौपानेले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको खोजी कार्य जारी रहेको जानकारी गराए।


















