जेलेन्स्की सहित युरोपेली साझेदारहरूसँग वार्ता गर्दै ट्रम्प

12

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा अन्य युरोपेली नेतासँग वार्ता गर्नु अघि स्पष्ट रुपमा शान्तिका लागि तयार हुनु पर्ने जनाएका छन्। उनले सोमबार वाशिङ्टनमा जेलेन्स्की सहित युरोपेली साझेदारहरूसँग वार्ता गर्दै छन्।

यसै वर्षको सुरुतिर ह्वाइट हाउसमा ट्रम्पसँगको पहिलो भेटमा भनाभन गरेका जेलेन्स्की त्यसयता पहिलो पटक ट्रम्पसँग पुन: वासिङ्गटनमा भेटवार्ता गर्न लागेका हुन्। ट्रम्पले स्पष्ट रुपमा शान्तिका लागि युक्रेन तयार हुनु पर्ने जनाए । उनले त्यसका लागि ‘युक्रेनले नेटोमा प्रवेश नहुने’ शर्त स्वीकार्नु पर्ने र क्रिमियासमेत फिर्ता नहुने जनाएका छन्।

मस्कोले सन् २०१४ मा अवैधरूपमा त्यसलाई आफ्नो क्षेत्रमा मिलाएको थियो, जुन घटना रूसको पूर्ण आक्रमण हुनु आठ वर्षअघिको हो। ट्रम्पका यी भनाइहरू हालै अलास्कामा भएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्तापछि आएका हुन्।

आइतबार राति अमेरिकामा पुगेपछि जेलेन्स्कीले पुनः आफ्ना सहयोगीहरूसँग दृढ सुरक्षा सुनिश्चितताको माग दोहोर्याएका छन्। रुससँग युद्ध अन्त्य गराउने विषयमा हुने वार्तामा सहभागी हुने नेताहरूमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिव मार्क रुट र यूकेका प्रधानमन्त्री सर केअर स्टार्मरलगायत रहेका छन्।

ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा शिखर बैठक भएको केही दिनपछि यो वार्ता हुन लागेको हो। उक्त बैठकमा ट्रम्पले युद्धविरामको माग छोडेर स्थायी शान्ति सम्झौता हुनुपर्ने माग गरेका छन्। नेटोको जस्तै सम्भावित सुरक्षा समझदारीबारे पुटिन सहमत भएको अमेरिकी दूतले बताएका छन्।

जेलेन्स्कीसँग वार्ता हुनुभन्दा केही घण्टाअघि बोल्दै ट्रम्पले ‘युक्रेनी राष्ट्रपतिले चाहेमा’ रुससँगको युद्ध अन्त्य गराउन सक्ने बताएका छन्। तर त्यसका लागि युक्रेन नेटोमा सहभागि हुन नपाउने उनले बताए

ट्रम्पको दबावपछि युरोपेली नेतामा चिन्ता

‘रुसबारे ठूलो प्रगति। कृपया हामीसँगै रहनुहोला!’ भन्दै थप केही नखुलाई ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा लेखेका छन्।

सोमवारको वार्ताका लागि वाशिङ्टनतर्फ लाग्ने नेताहरूमा फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रो, इटलीकी प्रधानमन्त्री जोर्जा मलोनी, जर्मन चान्सलर फ्रिड्रिख मेट्स, फिन्ल्यान्डका राष्ट्रपति एलेक्सान्डर स्टुब, युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन देर लायन छन्। उनीहरूमध्ये को-को ह्वाइट हाउसको वार्तामा सहभागी हुन्छन् भन्ने कुरा चाहिँ स्पष्ट भएको छैन।

गत शुक्रवार पुटिनसँग गरेको गरेको शिखर बैठकमा जेलेन्स्कीलाई सहभागी नगराएका ट्रम्पले सम्झौताका लागि सर्तहरू मान्न उनीमाथि दबाव सिर्जना गर्न सक्ने कुराप्रति युरोपेली अधिकारीहरू चिन्तित रहेको बीबीसीले जनाएको छ।

तर अमेरिकी विदेशमन्त्री मार्को रुबिओले ट्रम्पले जेलेन्स्कीलाई शान्ति सम्झौताका निम्ति दबाव दिने कुरा ‘सञ्चारमाध्यमहरूको मूर्खतापूर्ण भाष्य’ बनाएको बताएका छन्। नेटोका नेताहरू गत फेब्रुअरीमा जस्तो ट्रम्प, जेडी भान्स र जेलेन्स्कीबीच भनाभन हुने अवस्था सिर्जना हुन नदिनेबारे सतर्क देखिन्छन्।

त्यस बेला ट्रम्पले जेलेन्स्कीमाथि ‘तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको’ आरोप लगाएका थिए। त्यसले वाशिड्टन र किएभको सम्बन्धमा तिक्तता निम्त्याएको थियो। तर त्यसपश्चात्‌ सम्बन्ध सुधार्न युरोपेली नेताहरूले पर्दा पछाडिबाट निरन्तर काम गर्दै आएका छन्।

युक्रेनका नेतालाई सम्झौता हुने गरी कुरा गर्न सुझाव दिइएको छ, जुन भाषा ट्रम्पको भाषासँग मेल खान्छ। गत एप्रिलमा युक्रेनले अमेरिकासँग खनिज पदार्थसम्बन्धी एउटा सम्झौता गर्योक जसबाट अमेरिकाले युक्रेनमा आर्थिक साझेदारी हात पार्योँ। यसैबीच ट्रम्पले युक्रेनमाथि रुसले लगातार गरिरहेका हमलाप्रति असन्तोष व्यक्त गर्न थालेका थिए।

यता नेताहरू वार्तामा संलग्न हुँदै गर्दा रुसी सैनिकहरू लडाइँको मैदानमा अगाडि बढ्दै छन्। सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण स्तरको आक्रमण थालेयता रुसले अहिलेसम्म युक्रेनको २० प्रतिशतजति भूभागमा आफ्नो नियन्त्रण कायम गरेको छ। यसअघि आइतवार जेलेन्स्की र यूके, फ्रान्स अनि जर्मनीका नेताहरूसँग भर्चूअल छलफल गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here