लिपुलेक पास भएर व्यापार सञ्चालन गर्ने सहमति गरेकाेप्रति असहमति

22

काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाले भारत र चीनले नेपालाई बेवास्ता गर्दै लिपुलेक पास भएर व्यापार सञ्चालन गर्ने सहमति गरेकामा आफ्नो पार्टीको गम्भीर असहमति रहेको जनाएका छन्।

महामन्त्री थापाले बिहीबार प्रतिधिसभा बैठकमा लिपुलेक हुँदै व्यापार गर्ने भारत र चीनको सहमति आपत्तिजनक र अस्वीकार्य रहेको पनि उल्लेख गरे।

‘हाम्रा दुई छिमेकी भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो अनुपस्थितिमा एउटा सम्झौता गरेको हामीहरुले पढ्यौँ, सुन्यौँ, जान्यौँ,’ थापाले संसदमा भने, ‘नेपाली कांग्रेस पार्टी हाम्रा यी दुई छिमेकीले गरेको व्यहारप्रति गम्भीर असहमति प्रकट गर्दछ। यो आपत्तिजनक छ। अस्वीकार्य छ।’

चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका अवसरमा चीन र भारतबीच नेपालको सहमतिबिनाै लिपुलेक नाकालाई दुई देशको आपसी व्यापारिक प्रयोजनको लागि सञ्चालन गर्ने सहमति भएको थियो।

थापाले नेपाली भूमि लिपुलेकबारे भारत र चीनले गरेको सम्झौतामा सरकारले अढि बढाएको पहलकदमीमा सबैलाई समेटेर अघि बढ्न पनि आग्रह गरेका थिए। ‘नेपाल सरकारले यसका बारेमा जुन पहलकदमी अगाडि बढाएको छ, सबैलाई समेटेर अगाडि बढाओस्’, थापाले भने।

उनले थपे- ‘यो विषयमा नेपालका सबै राजनीतिक दलहरू एक ठाउँमा आएर उभिनुपर्छ, हिजो पनि उभियौँ, आज पनि हामी उभिनुपर्ने छ,’ थापाले भने, ‘हाम्रा मतमतान्तर आफ्ना ठाउँमा छन्। हाम्रा प्रतिष्पर्धा आफ्ना ठाउँमा छन्। हामी कोही पनि यो विषयलाई घरेलु राजनीतिको विषय नबनाऊँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here