काठमाडाैं । भुटानमा जारी यू-१७ महिला साफ च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दै छ।
नेपालले तेस्रो खेलमा बंगलादेशसँग चाङ्लिमिथाङ रंगशालामा साँझ ५:४५ मा प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशले समान २ खेल खेल्दा १-१ जित निकालेका छन्।
नेपाल र बंगलादेश दुबै टोली भारतसँग हार्दा दुवै टिमले भुटानलाई हराउन सफल भए। त्यसैले पनि अर्को चरण सुरु हुनु अघि दुवै टिम आफ्नो उपाधि सम्भावनालाई कायम राख्ने प्रयासमा रहेका छन्।
प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ को संघर्षपूर्ण खेलमा पराजित गर्न सफल भएको थियो।
बंगलादेशले भुटानलाई पहिलो खेलमा ३-१ ले हराउँदा भारतसँग २-० ले पराजित भएको थियो। पछिल्लो समय बंगलादेशले महिला फुटबलका हरेक उमेर समूहमा राम्रो प्रदर्शन गर्दै आएकाले नेपालका लागि बंगलादेशी चुनौती पन्छाउनु निकै कठिन छ।
हाल भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रोमा स्थानमा रहेका छन्।
आजै हुने अर्को खेलमा भारतले भुटानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी रहेको प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा आधारमा सञ्चालन भइरहेको छ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ।
















