जेनजी पुस्तालाई समेत संलग्न गरी आम चुनाव गराउनु पर्नेमा जाेड

25

काठमाडौं । कुलमान घिसिङले जेनजी पुस्तालाई समेत संलग्न गरी स्वच्छ छवि भएका व्यक्तिहरूको अन्तरिम सरकार गठन गर्नुपर्ने र अविलम्ब आम चुनाव गराउनु पर्ने जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै घिसिङले जेनजी पुस्ताको समेत संलग्नतामा नयाँ सरकार गठन गर्नुपर्ने जनाएका हुन् ।

१९ जनाको ज्यान जाने घटना सामान्य नभएको भन्दै उनले वर्तमान राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी कबुल गर्दै पद त्याग गर्नुपर्ने समेत जनाएका छन् ।

जेनजी पुस्ता देशको भविष्य भएको बताउँदै घिसिङले बुँदागत रुपमा लेखेका छन्, ‘यो पुस्ताको गुनासोलाई सम्वोधन गर्दै उनीहरूको सम्पूर्ण आकांक्षा पूरा गर्ने अवस्था सृजना गर्ने । राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी कबुल गर्दै पद त्याग गर्ने । जेनजी पुस्तालाई समेत संलग्न गरी स्वच्छ छवि भएका व्यक्तिहरूको अन्तरिम सरकार गठन गरी अविलम्व आम चुनाव गराउने ।’

घिसिङले जेनजी पुस्ताको नेतृत्व विकास गर्न सहयोगी पुग्ने ढंगले संविधानमा आवश्यक संशोधन गर्नुपर्ने धारणा पनि राखेका छन् ।

सबै तहको भ्रष्टाचार निर्मूल गर्नका लागि स्वतन्त्र उच्चस्तरीय आयोगले छानबिन गरी भ्रष्टाचारीहरूलाई फस्ट ट्र्याकबाट हदैसम्मको दण्ड दिने व्यवस्था गर्न पनि उनले प्रस्ताव गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here