वेस्ट इन्डिजमाथि नेपालकाे ऐतिहासिक जित

16

एजेन्सी । वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकाल्दै प्लेयर अफ द म्याच बन्न सफल भएका नेपाली कप्तान रोहित पौडेलले आफ्नो अवार्ड जेनजी आन्दोलनमा सहिद भएका युवाहरूप्रति समर्पित गरेका छन्।

शारजाह क्रिकेट मैदानमा आयोजित युनिटी टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको थियो।

यस खेलमा कप्तान रोहितले ३५ बलमा ३ चौका र १ छक्कासहित ३८ रन जोडेका थिए। १२ रनमै दुई विकेट गुमाएको अवस्थामा उनले कुशल मल्लसँग मिलेर ५८ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई प्रतिस्पर्धी स्कोरमा पुर्‍याएका थिए।

प्लेयर अफ द म्याच घोषित भएपछि रोहितले आफ्नो अवार्ड जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदलाई अर्पण गर्ने घोषणा गरेका थिए। उनले पछिल्लो समय नेपालले कठिन परिस्थिति व्यहोरेको उल्लेख गर्दै, “देशलाई थोरै भए पनि खुसी दिन सकेकोमा गर्व लागेको छ,” भनेका थिए।

त्यसैगरी, उनले शारजाह स्टेडियममा उपस्थित नेपाली दर्शकलाई धन्यवाद दिँदै आजको जितलाई ‘सुरुआत’को संज्ञा दिए। उनले निरन्तर दर्शकको साथ रहने अपेक्षा पनि व्यक्त गरे।

यस जितसँगै तीन खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here