मेरोनेप मोबाइल एप आधिकारिक रूपमा आईओएस एप स्टोर

19

काठमाडौं । मेरोनेप (MeroNEP) नामक मोबाइल एप आधिकारिक रूपमा आईओएस एप स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध भएको छ । संयुक्त राज्य अमेरिका, नेपाल र विश्वभरका नेपालीहरूलाई जोड्न, साझेदारी गर्न र एक-अर्कालाई साथ दिने उद्देश्यले यो एप ल्याइएको हो ।

यो प्लेटफर्म विदेशमा बसोबास गर्ने नेपाली र विदेश जाने तयारीमा रहेका, जस्तै भिसाका लागि आवेदन दिने विद्यार्थीदेखि अवसर खोज्ने कामदार वा सम्पर्कमा रहेर बस्न चाहने परिवारका लागि डिजाइन गरिएको छ । एपले विशेष गरी नेपाली डायस्पोरालाई ध्यानमा राखेर दूतावासका सम्पर्क, यात्रा र भिसा सहायता केन्द्र, सामुदायिक कार्यक्रम र रोजगारी सूचीहरू जस्ता जानकारी प्रदान गर्ने जनाइएको छ ।

विकासकर्ताका अनुसार मेरोनेप साझा संस्कृति, विश्वास र पारस्परिक सरसहयोगमा निर्मित नेटवर्क भएको र यसले प्रयोगकर्ताहरूलाई जोड्ने पुलको काम गर्ने अपेक्षा राखिएको छ ।  मेरोनेपका एक प्रतिनिधिले भने, “नेपाली समुदाय अविश्वसनीय रूपमा विविध र व्यापक छ । हाम्रा धेरै मानिसहरू शिक्षा, रोजगारी वा सपनाहरू पछ्याउन विदेश जान्छन् । मेरोनेपले उनीहरूलाई एक्लोपन महसुस हुन नदिन मद्दत गर्दछ; यसले उनीहरू जहाँ भए पनि समुदायलाई नजिक र सूचित राख्छ ।”

यो एपले अमेरिकाको डल्लासमा कोठा खोज्ने, न्युयोर्कमा नेपाली रेस्टुरेन्ट पत्ता लगाउने वा काठमाडौँमा भिसा गाइड गर्ने जस्ता दैनिक जीवनका आवश्यकताहरू पूरा गर्न सङ्गठित र परिचित स्पेस प्रदान गर्दछ ।

मेरोनेपले विदेशमा दैनिक जीवनका लागि बनाइएका विभिन्न सुविधाहरूलाई एकीकृत गरेको छ । सवारी, कोठा, रोजगारी, अध्यागमन र विद्यार्थी जीवनका बारेमा छलफल गर्न, सरसल्लाह गर्न वा साथ-सहयोग प्रदान गर्नका लागि यो उपयोगी माध्यम बन्न सक्छ ।

यसका साथै एपले विश्वव्यापी नेपाली सांस्कृतिक कार्यक्रमहरू, कन्सर्टहरू र सामुदायिक जमघटहरूको केन्द्रीय हब बन्ने लक्ष्य समेत राखेको छ । सुरक्षित मेसेजिङ फिचरयुक्त यो एपमा कुराकानीहरू गोप्य र सुरक्षित रहेको सुनिश्चित गर्न एन्ड-टु-एन्ड इन्क्रिप्टेड प्राइभेट च्याटको व्यवस्था गरिएको उल्लेख छ ।

मेरोनेप राजनीतिक सामग्रीबाट मुक्त रहेको र केवल सम्बन्ध तथा सामुदायिक कल्याणमा मात्र ध्यान केन्द्रित गर्ने विकासकर्ताको दाबी छ । प्रयोगकर्ताहरूले आफ्नो डेटामा पूर्ण नियन्त्रण राख्ने र कुनै पनि समयमा आफ्नो खाता मेटाउन सक्ने विकल्प पनि यसमा छ।

मेरोनेप व्यक्तिहरूका लागि मात्र नभई विदेशमा रहेका नेपाली उद्यमी र संस्थाहरूका लागि पनि शक्तिशाली मञ्च हुने अपेक्षा गरिएको छ । व्यवसायीहरूले आफ्ना प्रोफाइलहरू लिस्ट गर्न, अफरहरू राख्न वा स्थानीय प्रयोगकर्ता माझ सिधै आफ्ना वस्तु तथा सेवाको प्रवर्धन गर्न सक्छन्।

फेसबुक, इन्स्टाग्राम र रेडिट जस्ता विश्वव्यापी सामाजिक सञ्जालहरूको प्रभुत्व रहेको समयमा मेरोनेपले फरक स्थान लिने दाबी गरिएको छ । प्रमाणित नेपाली प्रयोगकर्ताहरूका लागि मात्र एक विश्वसनीय स्थान प्रदान गर्ने भएकाले यसमा भएका पोस्ट, समाचार र सूचीहरू स्थानीयकृत, मध्यस्थता गरिएका र सान्दर्भिक हुने बताइएको छ । जसले प्रयोगकर्ताहरूलाई गलत जानकारीबाट बच्न मद्दत गर्नेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here