काठमाडौं । एक थिएटर नेपालको प्रस्तुति रहेको नाटक ‘खमारीः मौन संवाद’ मण्डला थिएटरमा पुन: मञ्चन हुने भएको छ ।
यही भदौ १९ गतेदेखि २९ गतेसम्म मञ्चन हुने तालिका रहेको उक्त नाटक जेन जी आन्दोलनका कारण भदौ २२ गतेबाट रोकिएको थियो ।
नाटकका परिकल्पनाकार तथा निर्देशक मणि के. राईका अनुसार नाटक कात्तिक १३ गतेदेखि २० गतेसम्म पुन: मण्डला थिएटरमा मञ्चन हुन लागेको हो ।
नाटकमा एक दुर्लभ रुख खमारीलाई विम्ब बनाएर निर्माण गरिएको छ । मानिसहरुले आफ्नो स्वार्थका लागि प्रकृतिको अत्याधिक दोहन गरेका कारण जलवायु परिवर्तनको चुनौती सामना गर्नुपरेको विषयलाई केन्द्रमा राखेर नाटक ‘खमारी’ निर्माण गरिएको हो ।
नाटकले खमारी रुखको बिरुवालाई हुर्काउनका लागि एक बालकले गर्नु परेको संघर्षलाई फिजिकल प्लेमार्फत देखाउन खोजेको छ । यस नाटकमा सौजन सेनेहाङ्ग, प्रिया लम्जेल, आरुशी राई, मुस्कान राउत, प्रेम चन्द्र पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, डिलेन्द्र राई, देबिका राई, ममता साम्पाङ्ग राई, शक्ति राई, रेनुका घर्ती मगर र रञ्जना नेपालीको अभिनय रहेको छ ।
 
            
 
		

