कतिपयले त्यसरी नाच्ने मानिसलाई चर्चमा लैजाने तथा रातो जुत्ता र क्रस दिने काम गरेभने कतिपयले झन् बढी नचाउनका लागि बाजागाजा समेत बजाइदिए ।
नचिरहेका ती मानिसलाई शान्त पार्नका लागि गरिएका कुनै पनि उपायको प्रभाव देखिएन ।
पछि प्रसिद्ध चिकित्सक पैरासेल्ससले त्यो दैवी कारण नभई मानसिक रोग भएको ठहर गरे । उनका अनुसार मानिसको कल्पना शक्ति यति बलियो हुन्छ कि रोगझैं एक सहरबाट अर्को सहरसम्म फैलन सक्छ । पछि धेरैले यसलाई मानसिक महामारी अर्थात् मास हिस्टेरिया भएको ठहर गरे ।
तर, डान्सिङ प्लेगको वास्तविक कारण अझै रहस्यमै छ। केहीले यसलाई विषाक्त खानाको असर (फुड प्वाइजनिङ) भनेका छन् भने कोहीले सामूहिक मानसिक रोग भनेका छन् ।
अचम्मको कुरा के भने त्यो नाच्ने प्रकोप अचानक सुरु भयो, हरेक उमेरका मानिसलाई असर गर्यो र फेरि रहस्यमय तरिकाले आफैं समाप्त पनि भयो।
त्यसबेला स्वीस डाक्टर पेरासेल्ससले लेखे अनुसार सुरुमा एकजना महिला ट्राउ ट्रोफियाले आफ्ना पतिलाई लज्जित बनाउनका लागि नाच्न सुरु गरेकी थिइन् । तर, पछि उनकै सिको गर्दै सयौं महिला, पुरुष तथा हरेक उमेर समूहका मानिसहरु सडकमा झुम्मिएर नाच्न थाल्ने र कतिका लागि त्यहीँ नाच नै आत्मघाती सावित हुनु अनौठो छ ।
सम्भावित कारण: फुड प्वाइजनिङ

डान्सिङ प्लेगको कारणबारे सबैभन्दा ठूलो सिद्धान्त भनेको विषालु रोटीको सिद्धान्त नै हो । त्यतिबेला मानिसहरूले एर्गोट नामको ढुसी लागेको रोटी खाएका थिए भन्ने अनुमान छ ।
एर्गोटले मानिसमा अनौठो मतिभ्रम सिर्जना गर्दछ जसबाट मानिसहरुले गलत चिज देख्न थाल्छन्, शरीरमा झट्का लाग्न थाल्छ र पटक पटक अनियन्त्रित हर्कत गर्न थाल्दछन् ।
उक्त असर एलएसडी नामक लागुऔषध जस्तै हुन्छ । सहरका मानिसहरुले एर्गोट ढुसी भएको रोटी खाएका हुनाले नै त्यो ढुसीमा भएको विषले मानिसहरु अधीर भएर नाच्न थालेको दाबी यस सिद्धान्तमा गरिन्छ ।
यो सिद्धान्तमा गरिएको दाबीमा बल पुग्नुका केही कारण छन् । त्यतिबेला उक्त सहरका मानिसहरूले रोटी धेरै खाने गर्थे। साथै एर्गोटका लक्षण डान्सिङ प्लेगसँग मिल्दोजुल्दो थिए। युरोपका विभिन्न ठाउँमा यस्तै घटना भएको छ, जसलाई एर्गोट लागेको रोटीसँग जोडीएको पाइन्छ ।


















