चीनले सुन कारोबारमा दिँदै आएको कर प्रोत्साहन हटाइयाे

25

काठमाडौं । विश्वका सबैभन्दा ठूला सुन बजारमध्ये एक चीनले सुन कारोबारमा दिँदै आएको दीर्घकालीन कर प्रोत्साहन हटाएको छ।

चिनियाँ अर्थ मन्त्रालयले जारी गरेको नयाँ नियमअनुसार नोभेम्बर १ (कात्तिक १५) देखि खुद्रा व्यापारीहरूले सांघाइ गोल्ड एक्सचेन्जबाट खरिद गरेको सुन बिक्री गर्दा त्यसबापतको मूल्य अभिवृद्धि कर (भ्याट) कटौती गर्न नपाउने भएका छन्।

ब्लूमबर्गका अनुसार नयाँ व्यवस्था अन्तर्गत सुन प्रत्यक्ष बिक्री भए वा प्रशोधनपछि बिक्री भए पनि कर कटौती गर्न पाइने छैन। यो नियम उच्च-शुद्धताका सुनका बार, इन्गोट र चीनको केन्द्रीय बैंकले स्वीकृत गरेका सिक्का मात्र नभइ गहना तथा औद्योगिक प्रयोजनका सुनमा पनि लागु हुनेछ।

चीन सरकारले राजस्व वृद्धि गर्ने उद्देश्यले यो कदम चालेको बताइएको छ। हाल चीनको सुस्त रियलस्टेट बजार र कमजोर आर्थिक वृद्धिका कारण सार्वजनिक वित्तमा दबाब परेको छ। तर, यसले उपभोक्ताका लागि सुन महँगो पार्ने निश्चित देखिन्छ।

हालै विश्वभर खुद्रा लगानीकर्तामाझ सुन किन्ने उन्माद देखिएपछि सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको थियो। तर पछिल्लो समय एक्सचेन्ज- ट्रेडेड फन्ड मार्फत भइरहेको निरन्तर खरिद घटेपछि सुनको मूल्य दशककै ठूलो गिरावटसँग सामना गर्दैछ।

भारतमा चाडपर्वसँग सम्बन्धित मौसमी माग घट्नु र अमेरिका-चीनबीचको व्यापारिक तनाव कम हुनु पनि सुनको माग घट्ने अर्को कारण बनेको छ। यता चीनमा सुन महँगो हुने भएपछि नेपालको बाटो हुँदै भारततर्फ हुँदै आएको अवैध सुन तस्करीमा पनि कमी आउने अपेक्षा गरिएको छ।

हाल पनि सुनको मूल्य अक्टोबरमा तोडिएको ४ हजार अमेरिकी डलर प्रति औँसको स्तर आसपास नै स्थिर छ। विश्वका केन्द्रीय बैंकहरूको निरन्तर खरिद, अमेरिकामा ब्याजदर कटौतीको अपेक्षा र विश्वव्यापी आर्थिक अनिश्चितताले सुनलाई अझै पनि सुरक्षित लगानीको रूपमा आकर्षक बनाइरहेको छ।

उद्योगका विश्लेषकहरूले हालको उतारचढावपछि पनि आगामी एक वर्षभित्र सुनको मूल्य ५ हजार अमेरिकी डलर प्रति औँस नजिक पुग्न सक्ने सम्भावना व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here