हेटौँडा । हेटौँडास्थित चुरेहिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा.सुशील शाहमाथि भएको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघ मकवानपुरले माग गरेको छ । बुधबार साँझ ७ बजेतिर ड्युटीमा रहेका बखत डा.शाहमाथि आक्रमण भएको थियो ।
विज्ञप्तिमा घटनाको सीसीटीभी फुटेजमा पनि प्रस्ट प्रमाण देखिएको उल्लेख छ। संघले आक्रमणमा संलग्न व्यक्तिहरूलाई तुरुन्तै कानुनी दायरामा ल्याउन माग गरेको छ।
‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)’ बमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अगाडि बढाउन संघले सम्बन्धित निकायसँग माग गरेको हो । संघले दोषीमाथि शीघ्र र ठोस कारबाही नभएमा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।
सङ्घका अध्यक्ष डा. हरिबहादुर खड्का र सचिव डा. राजु सेढाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यदि दोषीमाथि शीघ्र र ठोस कारबाही नभएमा नेपाल चिकित्सक सङ्घ, मकवानपुर शाखा बाध्य भएर आन्दोलनका कठोर कार्यक्रम घोषणा गर्ने र उक्त आन्दोलनबाट सर्वसाधारणमा पर्न जाने असरको जिम्मेवारी सम्बन्धित निकाय हुनेछ ।’



















