काठमाडौं । पहिलो नेत्रहीन (ब्लाइन्ड) महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल फाइनल पुगेको छ। शनिबार कोलम्बोको पी सारा ओभलमा भएको दोस्रो सेमिफाइनलमा नेपालले पाकिस्तालाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। अब नेपालले विश्वकपको उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ।
भारतले अस्ट्रेलियालाई हराएर फाइनलमा स्थान बनाएको हो। पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि बिनिता पुनले ४६ रन बनाउँदा मनकेशरी चौधरीले १७ रन तथा सुष्मा तामाङले ३६ रनको अविजित इनिङ्स खेलेकी थिइन्।
नेपालले जारी प्रतियोगितामा समूह चरणमा श्रीलंकालाई ९ विकेटले हराएको थियो भने भारतसँग ८५ रनले पराजित भएको थियो। त्यस्तै, अस्ट्रेलियालाई १० विकेटले हराउँदा अमेरिकालाई ८ तथा पाकिस्तानलाई १० विकेटले नै हराएको थियो। सेमिफाइनलमा पनि नेपालले आफ्नो सोही लयलाई कायम राख्यो। सरिता घिमिरेले १९ रनको अविजित इनिङ्स खेलेकी थिइन्।

















