काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा २ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले एनपीएल चलिरहेको बेला राजधानीमा सक्रिय अनलाइन बेटिङ समूहहरूविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान सञ्चालन गर्दै १० जनालाई पक्राउ जानकारी दिए ।
अनुसन्धानका क्रममा डिजिटल वालेटहरूमा करिब २ करोड ५ लाख रूपैयाँ बराबरको कारोबार भएको प्रमाण फेला परेका प्रहरी उपरीक्षक भट्टराईले बताए ।
स्टेक डटकम, बेडबुक डटकमलगायतका वेबसाइटहरू तथा यससँग सम्बन्धित अन्य एप्लिकेसनहरू अनलाइन बेटिङका लागि प्रयोग गरिएको भट्टराईको भनाइ छ ।
नेपाल प्रहरीले अनलाइन जुवा र डिजिटल माध्यमबाट हुने आर्थिक अपराधहरूलाई नियन्त्रणमा ल्याउन थप अनुसन्धान र कारबाही जारी राख्ने जनाएको छ ।
यस्तो छ प्रहरी उपरीक्षक भट्टराईको भनाइ :
एनपीएल चलिरहेको अवस्थामा ‘अनलाइन बेटिङ’मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सक्रियतामा, अगुवाइमा र हामीले हाम्रो साथमा जम्मा १० जना व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान भइराखेको अवस्था छ । दुईवटा ‘ग्रुप’मा गरेर । करिब, करिब २ करोड ५ लाखको ‘ट्रान्जेक्सन’ भएको ‘वालेट’हरूमा ‘ट्रान्जेक्सन’ भएको देखिन्छ । केन्द्रीय ‘इन्भेस्टिगेसन’कै क्रममा हाम्रो ‘कस्टडी’मै छ अहिले र यसमा स्टेक डटकम, बेडबुक डटकम जस्ता वेबसाइटहरू वेटिङका लागि प्रयोग भएका छन् र यसैसित रिलेटेड अन्य एप्लिकेसनहरू पनि बेटिङ्को रूपमा ‘इन्भल्ब’ भएको जानकारी गराउँछु ।


















