काठमाडौं । विवाहको सिजन आएपछि बजारमा सुनको मूल्य अत्यधिक बढ्ने भएपछि भारतको उत्तराखण्डको एक गाउँका किसानहरूले अनौठो उपाय अपनाएका छन् ।
जौनसार–बावरका किसानहरूले गाउँमा शान्ति कायम राख्न गहना प्रयोगका लागि सीमा तोकेका छन् । तर, महिलाहरूसँग जोडिएको यो निर्णयमा उनीहरूको उपस्थिति भने थिएन । महिलाहरूको उपस्थितिबिना नै निर्णय लिइएको उल्लेख छ ।
हालै सुनको आकाशचुम्बी मूल्यले चिन्तित कन्दाड र इन्द्रोली गाउँका पुरुषहरूले विवाहको मुहर्त सुरु हुन लागेका बेला एक बैठक बोलाएका थिए । जतिबेला गाउँमा दुई परिवारका विवाह तय भइसकेको थियो ।
सुनका गहनाका कारण घरघरमा झगडा बढ्न थालेको उनीहरूले टिप्पणी गरेका थिए । दुवै गाउँको पञ्चायतका मुखिया ‘स्याणा जी’ को अध्यक्षतामा बसेको उक्त बैठकमा पुरुषहरूले एकमतले अब महिलाहरूले विवाह जस्ता समारोहमा नाकको फुली, कानको झुम्का र गलाको मंगलसूत्र गरी केवल तीनवटा गहनामात्र लगाउने निर्णय गरेका थिए ।
कन्दाड र इन्द्रोली गाउँ उत्तराखण्डको जनजातीय क्षेत्र जौनसार–बावरको हिस्सा मानिन्छन् । देहरादून जिल्लाको चकराता तहसीलमा टौंस र यमुना नदीबीच पर्ने यो क्षेत्र आफ्नो विशेष सांस्कृतिक वातावरण, सामूहिक भावना र उत्सव मनाउने शैलीका लागि परिचित छ ।
कन्दाड ग्राम सभामा कन्दाड र इन्द्रोलीसहित चारवटा गाउँ पर्छन् । यहाँ ६५ भन्दा बढी परिवार बस्ने तथा मतदाताको संख्या झन्डै ६५० रहेको जनाइएको छ ।
मुखिया स्याणा अर्जुन सिंह रावतले बैठकमा करिब ६०–७० पुरुष उपस्थित रहेको बताए । उनले गाउँका नोकरी–पेसा गरेकाले गहना किन्न सक्ने तर किसानहरूले नसक्ने भएकाले सीमित गर्ने निर्णय भएको बताए । त्यसपछि विवाहजस्ता समारोहमा महिलाहरूले नाक, कान र गलाको गरी जम्मा तीनवटा गहना मात्र लगाउने सहमति भएको उनको भनाइ थियो ।
गाउँका बैठकहरूमा परम्परागत रूपमा महिलाहरू सामेल नहुने गरिएको र पुरुषहरूले नै निर्णय गर्ने गरिएको स्याणा रावतले बताए । यदि कसैले उक्त निर्णय नमाने ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको उनले स्पष्ट पारे ।
कन्दाड गाउँका पुरुषहरू यस निर्णयबाट सन्तुष्ट देखिएको बताइएको छ । महिलाहरूले समेत सहमति जनाए पनि केही निराशा भएको समाचारमा उल्लेख छ । बीबीसी


















