काठमाडौं । नेपालमा हाल ७ खर्ब ६१ अर्ब ४१ करोड वटा नोट चलनचल्तीमा रहेका छन्। यो संख्या अघिल्लो आवको तुलनामा १०.३३ प्रतिशतले बढी हो।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सबैभन्दा धेरै एक हजार रुपैयाँका ५ खर्ब ३३ अर्ब ४७ करोड २२ लाख ८६ हजार वटा नोट छन्, जुन कुल प्रचलित नोटको ७०.०६ प्रतिशत हिस्सा हाे ।
गत आर्थिक वर्ष २०८१/८२ सम्ममा पाँच सय रुपैयाँका १ खर्ब ६५ अर्ब १३ करोड ५८ लाख ८५ हजार ५०० वटा नोट चलनचल्तीमा रहेका छन्, जुन कुल नोटको २१.६९ प्रतिशत बराबर हो।
त्यसैगरी २५० रुपैयाँका ८ करोड ७४ लाख २१ हजार २५० वटा नोट छन्, जुन कुल नोटको ०.०१ प्रतिशत हिस्सा हो ।
एक सय रुपैयाँका ३१ अर्ब ४१ करोड ३२ लाख ८९ हजार वटा नोट छन्, जुन कुल संख्याको ४.१३ प्रतिशत हो। ५० रुपैयाँका १३ अर्ब ६१ करोड १० लाख ७९ हजार ४०० वटा नोट प्रचलनमा छन्, जुन कुल संख्याको १.७९ प्रतिशत हिस्सा हो । २५ रुपैयाँका ५ करोड ७० लाख २० हजार ७५ वटा नोट चलनमा छन्, जुन कुल संख्याको ०.०१ प्रतिशत हिस्सा हो ।
२० रुपैयाँका ७ अर्ब ६७ करोड ८७ लाख ४४ हजार ५४० र १० रुपैयाँका ५ अर्ब ८४ करोड ५७ लाख १२ हजार १० वटा नोट प्रचलनमा छन्। यस्तै, २ रुपैयाँका १८ करोड ५० लाख ७८ हजार ६६० र १ रुपैयाँका १६ करोड ९ लाख ७४ हजार ६३५ वटा नोट चलनचल्तीमा रहेका छन्।
आर्थिक वर्ष २०८०/८१ मा कुल ६ खर्ब ९० अर्ब १५ करोड नोट चलनमा थिए भने आर्थिक वर्ष २०७९/८० मा ६ खर्ब ४० अर्ब ८ करोड नोट प्रचलनमा रहेका थिए।
गत आवका नोटहरूको सुरक्षणका लागि नेपाल राष्ट्र बैंकले ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा र सेक्युरिटी राखेको छ।
राष्ट्र बैंकका अनुसार, गत आवमा ५ रुपैयाँ दरका ३५ करोड थान बैंकनोट खरिद सम्झौताअनुसार पहिलो लटअन्तर्गत १३ करोड थान नोट आपूर्ति भई ढुकुटी दाखिला गरिएको छ।
१० रुपैयाँ दरका ३४ करोड थान नोट मध्ये पहिलो लटअन्तर्गत ९ करोड थान नोट आपूर्ति गरिएको छ। २० रुपैयाँ दरका ३१ करोड थान नोट करार सम्झौताअनुसार प्राप्त भई ढुकुटी दाखिला गरिएको छ।
गत आवसम्म विभिन्न दरका ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार बराबरको नयाँ नोट मौज्दात रहेको छ। अघिल्लो वर्ष यो मौज्दात १४५ अर्ब ७ करोड ४ लाख ९९ हजार थियो।
गत आर्थिक वर्षमा ९८ अर्ब ७५ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरका ३,८५० बाकस नोट निष्काशन गरिएको छ। एक बाकसमा ५० हजार थान नोट हुन्छ।
यस्तै, राष्ट्र बैंकले १९ अर्ब ५४ करोड १२ लाख ६२ हजार ३२५ रुपैयाँ बराबरका पुराना नोट धुल्याएको छ।


















