काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा, राजनीतिक दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन ०८४ को चुनाव ०८२ मा सार्न मात्रै नभएको भन्दै राप्रपाले प्रधामन्त्रीले दिर्घकालीन राजनीतिक निकास दिनुपर्ने माग गरेको हो ।
शनिबार बालुवाटारमा प्रधानमन्त्री कार्कीलाई बुझाइएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा हस्ताक्षरित ५ बुँदे ज्ञापन पत्रमा अन्तर जिल्ला र विदेशबाट समेत मतदान गर्न पाउने सुनिश्चिता गरेर मात्रै निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।
विभिन्न माग राखेर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट्न चाहेका जेनजी युवाहरूमाथि दमन र उपेक्षा उपयुक्त नभएको भन्दै राप्रपालले वार्ता र संवादबाट वातावरणलाई शान्त बनाउने प्रयास गर्न आग्रह गरेको छ ।
ज्ञापन पत्र बुझाउन जाने टोलीमा राप्रपाका वरिष्ठ उपाध्यक्षत्रय विक्रम पाण्डे, रोशन कार्की, र रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा, महामन्त्री कुन्ती शाही, महामन्त्री राजेन्द्र गुरुङ र महामन्त्री शरद्राज पाठकलगायत सहभागी थिए ।


















