काठमाडौं । नेपाल फुटबल खेलाडी संघले झन्डै तीन वर्षदेखि स्थगित सहिद स्मारक ए–डिभिजन लिग यसै वर्ष अनिवार्य रुपमा गर्नुपर्ने माग दोहोर्याउँदै एन्फा कार्यसमिति बैठकबाट लिगको मिति घोषणा हुनपर्ने जनाएको छ। संघले विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित एन्फा, ए–डिभिजन क्लब र खेलाडी संघबीच भएका छुट्टाछुट्टै तथा संयुक्त छलफलमा यसै वर्ष लिग सुरु गर्ने सहमति भइसकेको कुरा विदितै रहेको जनाउँदै संघले पछिल्ला बैठकहरूमा पनि सो सहमति दोहोरिएको र अब एन्फा कार्यसमितिबाट औपचारिक मिति घोषणा मात्र बाँकी रहेको जनाएको छ।
यस वर्ष ए–डिभिजन लिग नगर्ने कुनै निर्णय भयो भने त्यो आफूहरूको लागि स्वीकार्य नहुने संघले चेतावनी पनि दिएको छ।


















