भारतसँग सीमा जोडिएका नाकाहरूमा विशेष सुरक्षा सतर्कता

22

बारा । भारतसँग सीमा जोडिएका बारा र पर्साका नाकाहरूमा विशेष सतर्कता अपनाइएको छ ।

दुवै जिल्लाका प्रशासन कार्यालयहरूले भारतसँग सीमा जोडिएका नाकाहरूमा विशेष सुरक्षा सतर्कता अपनाएका हुन् ।

प्रशासन कार्यालयहरूले सीमा क्षेत्रमा विशेष सर्तकता अपनाउनका लागि जिल्लाका सुरक्षा निकायहरूलाई पत्राचार गरेका छन् ।

भारतीय भूमी हुँदै तेश्रो मुलुकका नागरिकहरू नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाका सबै सुरक्षा निकायहरूलाई सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउन परिपत्र गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।

बाराको ६० किलोमिटर भूभाग भारतसँग जोडिएको र त्यहाँ ९० वटा प्रवेश विन्दूरुको पहिचान गरिएको बारा प्रशासनले जनाएको छ । ‘हाम्रो भारतसँग जोडिएको ६० किलोमिटर क्षेत्रमा ९० वटा सीमा वारपार गर्न मिल्ने विन्दु छन्,’ भट्टराईले भने ।

उनका अनुसार सबै ठाउँमा विशेष निगरानी सुरु गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका पोस्टहरूलाई विशेष निगरानी गर्न निर्देशन दिइएको छ । बाराको सिम्रौनगढ नाकामा केही शंकास्पद मानिसहरूको गतिविधि देखिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साले पनि जिल्लाका नाकाहरूमा विशेष सर्तकता अपनाउन आग्रह गरेको छ । बुधबार दिउँसो सूचना प्रकाशन गरेर जिल्ला प्रशासन कार्यालयले सीमावर्ती नाकाहरूबाट परिचय नखुलेका शंकास्पद व्यक्तिहरू अवैध ढंगबाट जिल्लाभित्र प्रवेश गर्न सक्ने भएकाले सीमावर्ती नाकाहरूमा चेकजाँच कडा बनाएको जानकारी दिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला प्रशासन कार्यालयमा प्राप्त सूचना, विभिन्न निकायका ज्ञापनपत्र र ध्यानाकर्षणका आधारमा जिल्ला प्रवेश गर्ने व्यक्तिहरूको हकमा विशेष निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिइएको जानकारी गराए ।

जिल्ला प्रशासन कार्यालयले अपरिचित व्यक्ति, समुदायलाई घरमा बसोबास गर्न नदिन र कुनै कामकाजमा नलगाउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

बारा–पर्साका सीमावर्ती नाकाहरूबाट म्यानमारको रोहिँग्या समुदायका मानिसहरू नेपाल प्रवेश गरिरहेको भन्दै केही दिन अघिदेखि बारा-पर्साका संघसंस्थाहरूले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराइरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here