जनकपुरधाम । सर्लाहीमा घाँटी छिनाएर हत्या गरिएका वन हेरालु रामईश्वर महतोको टाउको फेला परेको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार केही समय अघि मात्रै झाडीमा महतोको टाउको फेला परेको हो ।
शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा ज्यालादारीमा कार्यरत राईटरखोरका ४७ वर्षीय महतोको शव फेला परेको थियो ।
महतोको शव घरदेखि करिब ५०० मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र टाउको नभएको अवस्थामा भेटिएको थियो । स्थानीयका अनुसार आज बिहान करिब ५ बजेतिर जंगलभित्र रुख काटिएको आवाज सुनेपछि त्यसतर्फ गएका थिए ।
घटनास्थलमा धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरिरहेको थियो । सो घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।


















