बंगलादेशमा ६ जना हिन्दुकाे हत्या

21

एजेन्सी । बंगलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि लक्षित हिंसाका घटनाहरू तीव्र रुपमा बढ्दै जाँदा अल्पसंख्यक समुदायहरुको पलायन बढेको छ। पछिल्लो १८ दिनमा हिन्दु भएकै आधारमा ६ जनाको हत्या गरिएको छ।

सोमबार राति बंगलादेशको नरसिंदी जिल्लामा ४० वर्षीय शरत चक्रवर्ती मणिलाइ धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। पलाश उपजिल्लाको चारसिन्दूर बजारमा आफ्नो किराना पसल चलाइरहेका बेला अज्ञात समूहले उनीमाथि आक्रमण गरेको थियो। गम्भीर घाइते मणिलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

उनलाई यो हत्या हुन सक्ने आशंका पहिलेनै थियो। गत डिसेम्बर १९ मा फेसबुकमा एउटा पोस्ट लेख्दै देशमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गरेका थिए र आफ्नो इलाकालाई ‘मृत्युको उपत्यका’को संज्ञा दिएका थिए।

यसैगरी, जनवरी ५ मा जेसोर जिल्लाको मोनिरामपुरमा आइस फ्याक्ट्रीका मालिक राणा प्रताप बैरागीको सार्वजनिक रूपमा गोली हानी हत्या गरिएको थियो। बैरागी ‘दैनिक बीडी खबर’ पत्रिकाका कार्यकारी सम्पादक समेत रहेका थिए। मोटरसाइकलमा आएका तीन जना आक्रमणकारीले उनलाई फ्याक्ट्री बाहिर बोलाएर टाउकोमा नजिकैबाट गोली हानेका थिए। प्रहरीले घटनास्थलबाट सात राउन्ड खाली खोका बरामद गरेको थियो।

हत्याका घटनासँगै बंगलादेशमा हिन्दु महिलाहरूमाथि हुने यौन हिंसा पनि उत्कर्षमा पुगेको छ। जनवरी ३ मा झेनाइदह जिल्लाको कालीगंजमा ४४ वर्षीया एक हिन्दु विधवा महिलामाथि सामूहिक बलात्कारको घटना समेत भएको थियो। जग्गाको विषयलाई लिएर रिसइबी राख्दै आरोपीहरूले महिलाका आफन्तलाई कोठामा थुनेर उनीमाथि कुकृत्य गरेका थिए।

त्यतिले मात्र नपुगेर, अपराधीहरूले ती महिलाको कपाल काटिदिएका थिए र उनलाई रूखमा बाँधेर कुटपिट समेत गरेका थिए। सो घटनाको भिडियो समेत बनाएर उनीहरूले पीडितलाई अपमानित गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ। यस मामिलामा हसन नामका एक अभियुक्त पक्राउ परेका छन् भने अन्यको खोजी भइरहेको छ।

बंगलादेशमा पछिल्लो समय विकसित यी घटनाक्रमले त्यहाँका हिन्दुहरूको मानव अधिकार र बाँच्न पाउने अधिकारमाथि गम्भीर प्रश्न खडा गरेको छ। १८ दिनमा ६ जनाको ज्यान जानु र महिलाहरूमाथि यस्तो बर्बरता हुनुले सुरक्षा व्यवस्था र अल्पसंख्यकमाथिको दमन डरलाग्दो रुपमा बढ्दै गएको छ।

मारिनेहरुमा दिपु चन्द्र दास, ब्रजेंदर बिस्वास, राणा प्रताप बैरागी, अमृत मंडल, खोकन चन्द्र दास र शरत चक्रवर्ती मणी रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here