काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो टिमको बैठकपछि वार्तामा आउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश निमन्त्रणा पठाएका छन् ।
शेखरले विशेष महाधिवेशनमै रहेका नेता सुनील शर्मामार्फत महामन्त्रीद्वयलाई वार्ताका लागि आग्रह गरेका हुन् ।
उनले विशेष महाधिवेशनमा पार्टी नफुट्ने सुनिश्चितता गरे पार्टीलाई विशेष महाधिवेशनको अपनत्वका लागि आफूले दबाब दिने बताएको नेत्री सरिता प्रसाईंले जानकारी दिइन् ।
शेखरको भनाइ उद्धृत गर्दै प्रसाईंले बाह्रखरीसँग भनिन्, “टिमका पदाधिकारीहरूसहित सबैको धारणा सुनेपछि उहाँले तपाईंहरूको आशय मैले बुझेँ, महामन्त्रीजीहरूले विशेष महाधिवेशनको लक्ष्यसहित स्पष्ट धारणा राखेपछि फुटमा जान नदिन म सभापतिसँग वार्तासहित दबाब दिन सकिने भन्नुभएको छ ।”
यसका लागि महामन्त्रीहरूले नै सहजीकरण गरी आश्वस्त बनाउने आधार दिनुपर्ने उनको भनाइ छ ।
“महामन्त्रीहरूले पार्टी नफुट्ने र विवाद नबढाउने सुनिश्चितता गर्नुपर्यो,” प्रसाईंले भनिन्, “त्यसपछि उहाँ (डा. शेखर कोइराला)ले सभापतिलाई विशेष महाधिवेशनको स्वामित्व लिएर आवश्यक सहजीकरणका लागि दबाब दिनुहुनृेछ ।”
उनले सभापतिसहितलाई लैजाने अवस्था निर्माण गरेपछि कोइराला पनि विशेष महाधिवेशनमा पुगेर टुंग्याउने बताइन् ।
बैठक सकिएपछि पदाधिकारीसहित शेखर सभापति देउवा निवासतर्फ लागेका छन् ।


















