काठमाडौं । चर्चित कुमारी नाटक ‘अग्निचक्षु’ आउँदाे माघ ११ गतेदेखि पुनः सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ।
वरिष्ठ कलाकार कृष्णभक्त महर्जनको नाट्य प्रस्तुति संयोजनमा तयार भएको यस नाटकमा कुमारी परम्परा, नारी चेतना, प्रेम, सामाजिक पाखण्ड र आध्यात्मिक द्वन्द्वलाई गहिराइमा केलाउँदै निर्माण गरिएको हाे ।
गत वर्ष भव्य रूपमा मञ्चन हुँदा ‘अग्निचक्षु’ले दर्शक र समीक्षक दुवैबाट उल्लेखनीय प्रशंसा बटुल्न सफल भएकाे थियो। यस नाटकले फेरि एकपटक नेपाली समाजका संवेदनशील, तर प्रायः मौन गरिएका विषयमाथि गहिरो बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।
जीवित देवी कुमारीको कथामा आधारित ‘अग्निचक्षु’ले देवीबाट सामान्य मान्छे बन्दै जाँदाको पीडादायी यात्रालाई नाटकको केन्द्रमा राखेको छ। पूर्व कुमारी पात्रमार्फत नाटकले समाजको दोहोरो चरित्र, प्रेमभित्र लुकेको स्वार्थ, नारीमाथि थोपरिने नैतिक दबाब र आत्मिक शान्तिको खोजलाई सशक्त ढंगबाट प्रस्तुत गरिएकाे छ।
यस नाटकमा कृष्णभक्त महर्जन, मञ्जु श्रेष्ठ, हेना नगरकोटी, सुशील राजोपाध्याय, सलोना बज्राचार्य, श्रीशेष श्रेष्ठ, कुन्दन शाक्य, धिरज थापा मगर, मनिस मानव, राजेन्द्र डंगोलकाे अभिनय रहेको छ ।
यस नाटकको सङ्गीत संयोजन विमल लामिछानेले गरेका छन्। गायनमा विमल लामिछाने र अनु अधिकारी रहेका छन् भने वाद्यवादनमा इन्द्रमान महर्जन, मिन घलान र गणेश रानाको योगदान रहेको छ।
- नेपथ्य तथा प्राविधिक टिम
- मञ्च सज्जा: कृष्याभक्त महर्जन
- प्रकाश परिकल्पना: झकेन बि.सी. – निर्मल साउद
- प्रकाश परिचालन: निर्मल साउद
- कोरियोग्राफी: जेडी तमु – कृष्याभक्त महर्जन
- वेशभूषा: अग्निचक्षु समूह
- प्रस्तुति परिकल्पना: झकेन बि.सी.
- सहजीकरण: हरिगोपाल श्रेष्ठ
- व्यवस्थापन, निर्माण र आयोजन
- सञ्चार तथा बजार व्यवस्थापन: चक्रप्रसाद पोखरेल
- निर्माण समन्वय: सरस्वती न्यौपाने
- पोस्टर डिजाइन: राजन काफ्ले
- बक्स अफिस: शान्ति चौधरी -सन्देश पाण्डेय
नाट्य प्रस्तुति संयोजन कृष्णभक्त महर्जनले गरेका छन् भने नाटककार तथा परियोजना प्रमुख चन्द्रप्रसाद पाण्डेय हुन्। साथै नाटकको आयोजन नागरिक कल्याण समाज नेपालले गरेको हो। सहआयोजकका रूपमा ह्युमत महिला समूह र तजिलजी गुथि नेपाः रहेका छन् भने काठमाडौं महानगरपालिकाले सहकार्य गरेको छ।
















