महिला हिंसाका फरक-फरक स्वरुप बिकसित भएका छन् !

12
-ईश्वरी सिंह
महिला हिंसा भन्ने बित्तिकै हामिले कुटपिट वा झै झगडा भन्ने बुझ्छौं ।
तर हालको अवस्थामा हिंसाको स्वरुपहरु पनि परिवर्तन हुँदै गएको पाईन्छ । समाजमा विद्ममान असमानता र पितृसत्तात्मक सोंच हावि हूँदा पनि महिला हिंसा दिनानुदिन बढ्दो क्रममा छ । 

हाम्रो समाजमा परापूर्वकालदेखि नै महिलालाई दबाबमा राख्ने प्रचलन रहेको छ । आज पनि छोरा र छोरी बीच भेदभावपुर्ण व्यवहार गरिने मानसिकता हटेको छैन। यस्ता किसिमका भेदभावपूर्ण व्यवहारहरु धेरै जसो तराई मूलका महिलाहरुले भोग्ने गरेको पाइन्छ । छोरी न जन्मियोस् भनेर भ्रुण हत्या गर्ने ,जन्मि हाल्यो भने पनि छोरालाई र्झैं शिक्षादिक्षा नदिने ,अर्काको घरमा जाने जात भनेर हेला गर्ने,स्वतन्त्रता पुर्वक छोरीले चाहे अनुसार जीवन जिउन नदिने लगायत धेरै किसिमबाट उनी आफ्नो जन्म घरमा हिंसामा पर्ने गर्छिन् ।

छोरी भएर जन्मेकै कारणले उनी सानैदेखि पिडीत त हुन्छिन् नै, उमेर बढ्दै गएपछि उनलाई लाखौं खर्च गरेर आमाबुवा र आफन्तहरुले विवाह गरी पराई घरमा पठाइ दिन्छन् । जीवनसाथी राम्रो परे त जिवन अगाडी बढाउन सहज नै हुन्छ, यदि श्रीमान दिनरात जाँड रक्सि खाएर कुटपिट गर्ने र झगडा गर्ने पर्यो भने उनको जिवन मरेतुल्य नै हुने गरेको हामिले दिनानुदिन समाचारमा सुन्दै आएका छाौं र कतिपय अवस्थामा प्रत्यक्ष देखेका पनि छौं ।

जसोतसो सहेर जिवन बिताउँदा पनि श्रीमान् र उनका घरका अन्य सदस्यहरुले दाईजो थोरै ल्याई र छोरा नजन्माएको आरोपमा मानसिक र शारिरीक रुपमा उनिमाथि हिंसा गर्न थाल्छन् । माइती पक्षले छोरीको खुशिकोलागि मागहरु पुरा गर्दै गएका छन् भने केहि समयकोलागि हिंसा साम्य त होला तर लोभले भरिएकाहरुको माग झन् बढ्दै जान्छ ।
यतिले पनि महिला माथि हुने घरेलु हिंसा रोकिदैन । महिलामाथि यस्ता किसिमका घरेलु हिंसाहरु युगौदेखि हुँदै आएको छ ।

बुहारी भएर उनी श्रीमानको घरमा गईसकेपछि पनि उनीमाथि हुने हिंसा सकिदैन । नयाँ-नयाँमा केहि दिन त उनलाई राम्रै व्यवहार गरिन्छ तर बिस्तारै दिनहरु बित्दै जान्छ र शुरु हन थाल्छ उनि माथि हिंसा । भए नभएका आरोपहरु लगाएर उनलाई प्रताडित गर्न थालिन्छ ।

छोरा न जन्माएको आरोप ,दाईजो थोरै भएको आरोप यस्ता अनेकन आरोपहरुको थुप्रो लगाइ कुटपिट गर्ने ,जलाएर मार्ने,घर निकाला गर्ने भोकभोकै राख्ने,सौता हाल्ने जस्ता कार्यहरु गरेर दुख दिइ कतिपय अवस्थामा उनलाई आत्महत्या गर्न बाध्य समेत बनाइन्छ । छोरीले दुख पाएर माईत जाँदा पनि माईति पक्षले छोरीलाई राख्दा समाजले अनेक थरि सोच्ने, इज्जत प्रतिष्ठामा आँच आउने जस्ता कुराहरु गर्न थाल्छन् ।

जति दुख पाएपनि छोरी मान्छेले घर गरेर खानु पर्छ भन्दै फकाएर श्रीमानको घर नै फिर्ता पठाउने गरेको पाईन्छ । इज्जत बचाउने चक्करमा कतिपयले त आफ्नो छोरी नै गुमाउने गरेका छन् । छोरी गुमाई सकेपछि बल्ल चेतना आँउछ तर त्यतिखेरसम्म धेरै ढिलो भईसकेको हुन्छ । जमाना त परिवर्तन भयो तर मान्छेहरुको मानसिकता अझै परिवर्तन हुन सकेको अवस्था छैन । त्यसैले गल्लि गल्लिमा घरेलु हिंसा रोकिएको छैन ।
त्यस्तै अहिले यौनजन्य हिंसा पनि दिनदिनै बढ्दै गएको देखिन्छ । प्रेममा फँसाएर केही वर्षमा विवाह गर्छु भन्दै लोभलालच देखाएर यौन सम्पर्क राख्ने गरेका घटनाहरु धेरै सुनिन थालिएको छ । खास गरेर आजकल विवाह अघि नै लिभिङ टुगेदरमा बस्ने त ट्रेन्ड नै चलेको छ । विवाह अघि सङ्गै बस्ने अनि विवाह गर्ने बेला आएपछि कतिपय पुरुषहरु पन्छिने बाटो खोज्न थाल्छन् । सङ्गै बसुन्जेल त उनिहरुबिच शारिरीक सम्पर्क भई सकेको हुन्छ । प्रेम र सहमतिमै भए पनि अस्विकारपछि उक्त घटना यौन हिंसामा रुपान्तरित हुन पुगेका पाईन्छन् ।

कानुनमा भनिएको छ ‘फकाइ फुल्याई सहमतिमै शारिरीक सम्बन्ध कायम भएपनि त्यो यौन हिंसा अर्थात बलात्कार अन्तरगत पर्दछ । यस्ता सम्बन्धमा बस्दै आएका कतिप महिलाहरुले आफ्नै शरिरमा आगो लगाएर आत्मदाह गरेको पनि पाईएको छ । त्यस्तै कतिपय विवाहित महिलाहरुलाई आफ्नै घरका ससुरा,जेठाजु,आफन्तजनबाट पनि यौनजन्य हिंसा हुने गरेको पाईएको छ ।
हालको अवस्था त झन् महिलामाथि हुने हिंसा  डरलाग्दो नै भएको छ ।
आजको युग इन्टरनेटको हो । इन्टरनेटले गर्दा संसारलाई सानो बनाई दिएको छ । टेक्नोलोजिको कारणले गर्दा सबैलाई एकअर्कासँग नजिक ल्याई दिएको छ । ओछ्यानमा सुति सुति संसारसँग गफिएर बस्न सकिन्छ ।
आजकल सामाजिक संजाल प्रयोग नगर्ने सायदै कोहि होलान् । सामाजिक संजालमा नयाँ नयाँ साथिहरु बनाउने,फ्यान फलो बढाउने चक्करमा नचिनेका व्यक्तिहरुसँग मित्रता गर्ने जमाना आएको छ।सामाजिक सञ्जालमा आजकल सबैलाई भाईरल नै हुनु परेको छ, चाहे सकारात्मक रुपबाट होस् वा नकारात्मक रुपबाट होस् ।

हालका दिनहरुमा धेरैजसो मानिस सहि तरिकाबाट भन्दा पनि भल्गर र फोहोरी भाषाको प्रयोग गरेर भाईरल हुन थालेका छन् । यसरी सामाजिक संजालमा नचिनेकासंग मित्रता गाँस्दा कतिपय महिलाहरु भावानात्मक र आर्थिक रुपमा हिंसामा पर्न थालेको समाचार दिन दिनै बढ्दै गएको छ ।

सामाजिक संजालमा भेटेका व्यक्तिहरु सबै सकारात्मक विचारका नहुन पनि सक्छन् । त्यसैले संगत गर्दा सम्बन्धित व्यक्तिको प्रोफाइल राम्ररी चेक गरेर,विचार गरेर मात्र गर्दा राम्रो हुन्छ । कतिपयले सामाजिक संजालबाट प्रेम प्रस्ताव राखेर विभिन्न प्रलोभनमा पारेर फसाउने गर्दछन् । प्रेमी र प्रेमिका भएपछि भिडीयोकलमा कुराकानी हुने नै भयो । कसै कसैले त भिडीयो कलबाट एकअर्कासङ्ग अन्तरङ्ग सम्बन्ध समेत गाँस्ने गर्दछन् । विश्वासको आधारमा नचिनेको व्यक्तिसँग सामाजिक संजालमा गरिएको क्रियाकलापले पछि गएर ठुलो समस्या निम्त्याउने गरेको पनि पाईन्छ ।

सबै गलत नहोलान् तर मित्रता गाँस्नु अघि हजारपटक सोच्न भने आवश्यक हुन्छ । दुईजना बिचको कुराकानी र फोटोहरु सार्वजनिक गर्दिन्छु भन्दै आर्थिक बार्गेनिङ आँउदाखेरि कतिपय महिलाहरु आर्थिक हिंसामा पर्ने गरेका पाईएका छन् । सामाजिक संजालबाट सम्बन्ध गाँसेकाहरु आफु ठगिएको भन्दै प्रहरीमा पुगेपनि कार्यान्वयन पक्ष फितलो भएको कारणले गर्दा दोषीलाई कानुनी दायरामा ल्याउन समस्या हुने गरेको छ ।
हिंसा जुनसुकै रुपबाट किन गरिएको होस्, हिंसा गर्ने व्यक्तिले त गलत गरेकै छ, तर सहेर बस्ने व्यक्ति पनि उत्तिकै दोषी हो । आफ्नो जीवन भन्दा महत्वपुर्ण यो संसारमा केही पनि हुँदैन । त्यसैले परिवारको इज्जत ,समाजको डरले हिंसा सहेर कहिल्यै बस्नु हुँदैन । अत्याचार र हिंसाको बिरुद्धमा आवाज उठाउनु पर्छ ।

मानसिक ,शारिरीक र आर्थिक लगायत जस्तोसुकै किसिमको हिंसा गर्ने व्यक्तिलाई कानुनमा लेखिएबमोजिम कार्वाहिको दायरामा ल्याउनकोलागि सम्बन्धित निकायसम्म पुग्ने आँट पनि राख्नु पर्छ ।किनकी न्यायकोलागी आफैले आवाज उठाउनुपर्छ ।
अरुले बोलिदेला कि गरिदेला कि भनेर हिंसा सहँदै जाने हो भने पीडितले झन् पीडित बन्दै जानुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here