काठमाडौं । चर्चित अभिनेत्री तथा गतिशिल लोकतान्त्रिक पार्टीकी नेतृ निशा अधिकारीले काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
उक्त दलकी केन्द्रीय सदस्य रहेकी निशाले अबको १० वर्ष देशप्रति समर्पित हुने जनाएकी छिन् । उम्मेदवारी दर्ता भएपछि निशाले पार्टीले अघि सारेको ‘वडा वडामा दिगो रोजगारी’ सहितका मुद्दालाई आफूले अघि बढाउने प्रतिक्रिया दिइन् ।
उनले थप्दै भनिन् उद्यमशिलता, पर्यटन, कृषि, प्रविधि, मानसिक स्वास्थ्य लगायतका एजेन्डालाई विशेषज्ञसँग बसेर अघि बढाउने जानकारी गराउँदै ‘हामी हाउ पार्टी बन्न चाहेकाे धारणा राखिन् । जसरी भए पनि समस्या समाधानसहितको हाउ पार्टी’ उनले भनिन् ।
क्षेत्र ५ कै मतदाता रहेकी निशाले आफ्नो अनुभव पनि सुनाइन् । ‘म क्षेत्र ५ कै भोटर हुँ । अहिलेसमम मैले राम्रो उम्मेदवारलाई भोट हाल्न पाएको छैन’ भनिन्, ‘अहिले पनि महिलाको सहभागिता राजनीतिमा निराशाजनक छ ।
महिला सशक्तीकरण महिलाको लागि मात्र होइन, घर पुरुष सबैको हुन आउँछ । भान्सादेखि सदनसम्म महिलाको कुरा आउनुपर्यो भन्ने मेरो इच्छा छ ।’ गतिशिल लोकतान्त्रिक पार्टीले फुल चार्ज ब्याट्रीलाई चुनाव चिन्ह बनाएको छ ।


















