व्यवस्था फेरियो अवस्था फेरीएन इन्द्र बहादुरको

21

-सन्तोष नेम्बाङ लिम्बू
बि।सं। २०१६ सालमा इलाम जीतपुरमा जन्मिएका हुन इन्द्र बहादुर लिम्बू अर्थात कान्छा दार्इ । आउदो २०८३ को नयाँ सालसँगै ६७ बर्षमा हिड्दैछन् । जन्मदै दृष्टिविहिन कान्छा दाई उमेर बैसमा भने बाँसको लौरीको भरमा झिसमिसेमा जीतपुर नवमी बजार पुगी सक्थे । जहाँ प्रत्येक शुक्रबार र राम नवमीकी दिन मेला बजार लाग्ने गर्छ । भाँलेको डाकसँगै उठने कान्छा दाई बेला बेला नवमी बजारमा ढिलो उठ्ने पसलेलार्इ रङ्ग चिया पकाउ भनी उठाउथे । प्राय दिनभरी नवमी बजारतिरै देखिने कान्छा दाई साँझ परे पछि भने आफ्नै झुपडीमा फर्कन्छन् । केही बर्षदेखि कम्मर दुख्ने समस्याले सताए पछि कान्छा दाई उतिसारो गाँउघर छरछिमेकमा कमै पुग्ने गरेका छन् । जीतपुर नवमी बजारबाट १५ मिनेट जति पश्चिम ‍ओरालो झरे पछि दक्षिण दैलो फर्केको खोल्सीपारी सानो कटेरो जस्तो टाटीले बेरेको घर देखिन्छ । घरमा कान्छा दार्इ जस्तै जन्मजात दृष्टी विहिन दिदि दुर्गादेवी सँगै बस्छन् ।

बाँसका टाटीले बारीएको, भित्री कुनामा तीनवटा ढुङ्गा गाँडीएको चुलो, माथी जस्तापाता च्यापिएको छाना, सिकुवामा भत्केको जाँतो, चारकुना नमिलेको सानो आँगन । बा कुम्बध्वोज लिम्का दुर्इ मात्र सन्तान भए पनि इन्द्र बहादुर लिम्बूलार्इ गाँउलेले प्यारो नाम दिएका छन् सबैको कान्छा दाई ।
आम्दानीको केही स्रोत नभएको कान्छा र दिदिको झुपडी । सपाङ्ग जस्तै काम गरी खाउ भने दुवैजना जन्मजात दृष्टिविहिन । उमेर पनि बुढौलीपनमा घर्सन्दै वितिरहेको छ । गाँउघरमा बनिबुतो गर्नलाई छरछिमेकले उतिसारो काममा लगाउने कुरो पनि भएन । दुवैजनामा सहानुभूती प्रकट गर्नु वाहेक अरु विकल्प केही छैन । भने जस्तो खान लाउन त दिदिभाइले कहाँबाट पाउनु । दिदिभाईको नाममा झुपडी आसपास कुखुरा सम्म पाल्न सकिने पाखोबारी छ । पाखो बारीमा स्कूस, फूलतरुल, माने टुसाउदै छन् । कहिले काही कान्छा दाई मनले खाँएको छिमेकमा सकेको काम सगाउन जाने गरेका छन् । दाउरा चिर्न, घाँस काटन सघाएबापत आनोमानो चामल बटुलेर घर पुर्याउछन् । साँझ विहान दिदिले छामछामछुमछुम गर्दै अनुभवको भरमा पकाइ दिएको खोलेफाडो खाएर गाँउघर डुल्नु कान्छा दाइको दैनीकी जस्तै छ ।

दृश्यको कारण कान्छादाईले कहिल्यै च्याब्रुङ नाचेका छैनन् । च्याब्रुङका धुनहरु भने बालककाल देखि नै यो बुढ्यौली यामसम्म सुनि रहेका छन् । गाँउघरमा च्याब्रुङ घन्केको सुने भने कान्छा दार्इ धुन पच्छाउदै च्याब्रुङ बजेको स्थल पुगी हाल्छन् । कसैले निम्तो बाँडन छुटाए पनि शुभकार्यमा बजेको च्याब्रुङको धुन चाख मानेर सुन्छन् । लाग्छ कान्छा दार्इमा पनि च्याब्रुङको मोह खुबै छ । उनी भन्छन् ( “ च्याब्रुङको धुनहरु धेरै प्रकारका हुन्छन् । जिवजन्तुहरुको आवाजको नक्कल गर्दै साथीहरुले च्याब्रुङ बजाएको मन पर्छ ।” सुन्छु सयौ च्याब्रुङहरु एउटै तालमा बजेको । च्याब्रुङको धुनले एउटै चालमा गोडाहरु नचाको नदेखे पनि म महसुस गर्न भने सक्छु । मतलब मैलै भित्री मन र आत्माबाट च्याब्रुङेहरु गोलाकार घेरा भित्र विभिन्न शैलीमा नाचेको देख्छु । कान्छा दाइको यस्तो अदभूत कुरा सुन्दा आफूलार्इ पनि निर्धक्क च्याब्रुङ नाच्न हुटहुटी चलेर आउछ ।
जीतपुर नवमी बजारमा चिनेजानेका दाजुभाइ छरछिमेकीले लौ यो पनि खौं भन्दै दिएका मिस्त्री, विस्कुट, मिठाइ बटुल्न उनको दिनचर्या छ । गाँउघरतिर हुने विहेबटुलो, भोजभत्तेर, सभासमारोहमा पुग्न प्राय छुटाउदैनन् कान्छा दार्इ । दृष्टीविहिन भए पनि कान्छा दार्इ सपाङ्ग लाठे जतिकै बलको काम गर्थे । हाल बुढौलीले छुदै गएर होला उमेर बैस जस्तो रुख चढेर घाँस झार्न , ढिकी कुटीदिन, दाउँरा चिरी दिन भने सक्दैन ।
आज भोली साँझ विहान रेडियो एफएममा समाचार सुन्छन् । समाचारमा आउदो फाल्गुन २१ गते चुनाव हुँदैछ । आफ्नै गाँउ जीतपुर, सोयाक, महमाइतिरका नेताहरुको भिडन्त छ। पुराना दलदेखि नयाँ र स्वतन्त्र गरी १४ जनाको उमेद्घारी परेको छ । यस्ता राजनैतिक चासो र जानकारी कान्छा दाई खुब राख्छन् । यी बाहेक कसको घरपसलमा छिपेको जाँड देखि मिठो मसिनो के पाक्छ भन्ने उनलार्इ राम्ररी जानकारी छ । आफ्ना वरीपरी चिनेजानेकामा को सँग कतिको विचारको दम छ भन्ने साथीभार्इको नाडी पनि छामिसकेका छन् उनले । आफूलाई भगवानले आँखा देख्ने बनाइ दिएको भए म पनि यो देशको असल नेता बन्थे । भदौरे जेठा पद्मम सुन्दर लावती, न्याधिसको छोरा सुवास नेम्बाङ जस्तै नेता हुन्थे नि मनको बह सुनाए । मलाइ धेरैले देखे पनि मेरो भित्री आत्माले असली नेताहरु चिनेको छु ।बि।सं। २०३६ सालको जनमत संग्रह देखि भोट हाल्दै आएको छु । बहुदल देखि गणतन्त्र सम्म आइपुग्दा संघ प्रदेश देखि स्थानीय चुनावमा छानीछानी भोट हाले पनि हाम्रो अवस्था जस्ताको तस्तै छ । जुनै पाटीले जिते पनि नेताहरु कहिल्यै फर्केर मेरो झुपडीमा आएनन् । हाम्रो दुख घाम जतिकै छर्लङ छ खै त नेताहरुले देखेको ? म हिड्ने त्यही खोल्सीको गोरेटो, त्यही झुप्रो, त्यही थोत्रे लाठीको साहारा अहिले सम्म नि तेसै छ । गत साल म यही खोल्सीकी गोरेटोमा नराम्रो गरी लडे । जीतपुरे स्वास्थ्य चौकी सम्म गाँउलेले स्टेचरमा बोकेर लगे । कम्मर पछाडीको डडेल्नोको हड्डी मर्कीएछ । अहेबले इलाम झापाको अस्पताल जानु भने । आर्थिक समस्याले तत्काल जान सकिन । उपचार सहयोगको लागी दाजुभाइ छिमेकीलाई मात्र कति मागी रहनु । सकेजति पटक ( पटक सरसहयोग गरेका पनि हुन । कति हात थापी रहनु । यस पटक मागी रहन पनि सरम लाग्यो । तेसैले यही लाठीको साहारमा सहयोगको लागि वार्ड कार्यालय धाइरहे । घरबाट ४(५ घन्टा हिडेरै आफ्नै देउमाइ नगरपालिका मंगलबारेमा मेयरको टेबल समाए । जनप्रतिनिधि देखि हुने खाने सम्मलाई मेरो र दिदिको दुख सुनाए । भने जस्तो सहयोग पाइन । यसपालीको दशैतिहार ताका दिदि विरामी हुनु भयो । अस्पताल लैजाने पैसै भएन । आफूलाइ जस्तै दिदिलाइ पनि थप उपचार गर्न सकिन । सरकारले हामी जस्ताको स्वास्थ्य उपचार सुविधा दिए हुने थियो उनले भने । वार्ड कार्यालयबाट हामी दुवैले दृष्टि विहिनको कार्ड पाएका छौ ।मासिक रुपमा सामाजिक सुरक्षा भत्ता त पाउछौ । के गर्नु अरु कमाइ छैन । जसोतसो त गुजार चलाउदौ छौ । पोहोर साल नगरपालिकाले सुरक्षित नागरिक आवासको नाममा जस्तापाता भने फेरी दिए बाहेक अरु सुविधा दिएको छैन । संघीय सरकारले दिने भत्ता बाहेक वडाले केही गर्न नसकेको पूर्व वडा सदस्य हेमराज मोरोहाङ्कले बताए । नेपालको संविधानको मौलिक हकले बेसाहाराको संरक्षणको जिम्मा राज्यको हो भनिए पनि यो परिवारको जिम्मा सरकारले लिन सकेको छैन ।
सुन्दैछु यही फागुनमा भोट हुदैछ छ रे । गाँउले नेताहरु भोट माग्न मेरो झुपडी धाउने छन् । दिदिभाइको भोट माग्दै पहिला जस्तो दालचामल , लुगा कपडा लिएर आउछन् होला । म पनि बुझि हेर्छु के मुख लिएर आउछन् नेताहरु ? चुनाव पछी बाटोमा मलाइ देख्दा तर्कनेहरु को को हुन मलाई राम्ररी थाहा छ ।परारको साल हामी बस्ने खरले छापेको घरमा आगलागी भयो । चैत्रको मास खरको छानामाथी आगो सल्केछ । हामी दिदिभाइ भित्रै उसिनेको फूलतरुल खाइरहेका थियौ । त्यतिकैमा घर बाहिर होहल्ला सुन्यौ । हामीलाई गाउँकाले निकाल्न सम्म भ्याए । दुवैजनाको आङ्गको कपडा बाहेक केही रहेन । खरले छापेको र बाँसको टाटीले बेरेको घर क्षणभरमा खरानी भयो । घरभित्र जोहो गरेर राखेका अन्नपात, भाडबर्तन , लताकपडा, सबै जलेर नष्ट भयो । हामी दिदिभाइ हप्तौदिन छिमेकीकोमा शरण पर्यौ । आँखाले नदेखे पनि मैले सम्झीरहेको छु । कोही नेता कार्यकर्ता फर्केर सम्म आएनन् । बरु गाँउले यसोधा, गंगादिदिबहिनीहरुले झुप्रो उभ्याउन सहहयोग गरे ।
यस पालीको चुनाबमा को(को के अनुहार लिएर आउदो र छ विचारेर बस्दैछु ।तिनीहरुको चुनावी घोषणा पत्र सुन्नेछु । को-को के साइनो गाँस्दै भोट माग्न आउछन् हाम्रो लागी के नापीस भन्दै सोध्ने छु । छिप्पेको जाँडले रन्केको बेला साथीभाइ सामु उनी पनि के कम “ महाभारतको धृतराष्टले जस्तै मान्छेको कालो सेतो मन म पनि छर्लङ्गदै देख्छु हौ ( जाँठा हो हामीला छल्न नखोज नि ।“ देशको व्यवस्था फेरियो भन्ने सुन्छु खै त हामी जस्ताको अवस्था फेरीएको ? मेरो आत्माको दृष्टिले हेरी रहेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here