काठमाडौं। चालु आर्थिक बर्ष २०८२–८३ को ६ महिनामा बीमालेख सरेन्डर ६.१३ प्रतिशतले घटेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पुस मसान्तसम्मको ‘बीमा प्रतिबिम्ब’ ले यस्तो देखाएको हो ।
गत आवको पहिलो ६ महिनामा ५४ हजार ४१४ वटा बीमालेख सरेन्डर भएको थियो । चालु आवको पहिलो ६ महिनामा भने ५१ हजार ७७ वटा बीमालेख सरेन्डर भएको छ ।
सरेन्डर रकमका आधारमा भने सरेन्डरमा २३।७७ प्रतिशतको गिरावट देखिएको छ । गत आवको पहिलो ६ महिनामा सात अर्ब ४६ करोड ६६ लाख ७२ हजार रूपियाँको बीमा सरेन्डर भएको थियो । चालु आवको ६ महिनामा पाँच अर्ब ६९ करोड २१ लाख रूपियाँको बीमा सरेन्डर भएको छ ।
सामान्यतः पाँच बर्ष भन्दा बढीको अवधि राखेर जीवन बीमा गरिन्छ । त्यसमा बिमितले हरेक बर्ष बीमाशुल्क तिर्नुपर्छ । तर, बीमा गरेको तीन बर्षपछि बीमितले बीमालेख सरेन्डर गर्न पाउँछन् । त्यसबेला बोनस सहित सरेन्डर रकम पाइनेछ । यद्यपि, त्यसमा जोखिम रक्षावरण गरेबापत कम्पनीले निश्चित रकम कट्टा गर्नेछ ।
३७ अर्ब ८० करोडको बीमा भने निष्क्रिय
समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरूमा ३७ अर्ब ८० करोड ७६ लाख रूपियाँ बराबरको जीवन बीमालेख नवीकरण नभई ‘व्यतीत’ भएर बसेको देखिएको छ । संख्याका आधारमा १२ लाख ३१ हजार ६५० वटा बीमालेख नवीकरण भएका छैनन् ।
अहिले नेपालमा १४ ठूला र तीन लघु जीवन बीमा कम्पनी छन् । उक्त कम्पनीहरूमा सो बराबरको बीमालेख नवीकरण नभई बसेको हो । यो गत आवको पुस मसान्तसम्मको तुलनामा बढी हो । गत आवको पुस मसान्तसम्म ३६ अर्ब १६ करोड ८९ लाख रूपियाँ बराबरको १२ लाख २९ हजार ५०६ वटा पोसिली निष्क्रिय भएर बसेको थियो । संख्याका आधारमा ०।१७ प्रतिशत र रकमका आधारमा ४।५३ प्रतिशतले बीमा व्यतीत भएको देखिएकाे छ ।
सामान्यतया पाँच बर्ष, १० बर्ष, १५ बर्ष जस्ता निश्चित अवधि तोकेर जीवन बीमा गरिन्छ । एकल बीमाशुल्क भुक्तानी गरेको अवस्थामा बाहेक बीमितले त्यस्ता बीमामा हरेक बर्ष बीमाशुल्कको किस्ता तिर्नुपर्छ । त्यो किस्ता नतिरेमा बीमालेख नवीकरण हुँदैन ।
त्यस्तो बीमालेख व्यतीत भएर बसेको हुन्छ । बीमितले पहिला तिरेको पैसा कम्पनीमा सुरक्षित रहन्छ । बीमा अवधि सकिएपछि त्यो रकम बोनस सहित पाइनेछ । तर, नवीकरण नगरेको मितिदेखि उक्त बीमालेखले बिमितको जोखिम भने सुरक्षण गर्दैन । बीमितले कुनै पनि बेला बक्यौता तिरेर त्यस्तो पोलिसी नवीकरण गर्न भने सक्नेछन् ।
बीमा गरेको तीन बर्षपछि बीमालेख सरेन्डर नै गर्न मिल्छ । बीमालेख सरेन्डर गर्दा बीमितले आफ्नो पैसा पनि फिर्ता पाउँछन् । तर, बीमितले पोसिली सरेन्डर पनि नगर्ने र नवीकरण पनि नगर्ने समस्या रहेको यो तथ्यांकले देखाएको छ । बीमा कम्पनी तथा अभिकर्ताहरुले नियमित रुपमा बीमितलाई सम्पर्क नगर्दा पनि पोलिसी नविकरण नहुने समस्या देखिएको जानकारवाहरु जनाउँछन् । यसैगरी पहिला अभिकर्ताले कमिसनका लागि जवरजस्ती बीमा गराउने र पछि निमीयत सम्पर्क नगर्ने हुँदा पनि यस्तो समस्या आएको जनाइन्छ ।
कतिपय अवस्थामा आर्थिक अभावका कारण बीमितले साचीकै बीमालेख नवीकरण गर्न नसकेको पनि कम्पनीहरू जनाउँछन् । बीमा सरेन्डर सम्बन्धी ज्ञान नभएका कारण त्यस्ता बीमितहरु पोलिसी सरेन्डर गर्न पनि नआएको कम्पनीहरुको धारणा छ ।


















