नेपाली कम्युनिष्ट आन्दोलनका समस्या र तत्कालीन कार्यभार

15

– लोकनारायण सुवेदी

नेपालमा आज पनि नेपाली जनताको ठूलो हिस्साले कम्युनिष्ट आन्दोलनलाई समर्थन गर्दछ ।बिगत लामो समयको कुरालाई परै छाडेर बर्तमान स्थितिलाई त्यसमा पनि खाशगरी २०६२/६३ को आन्दोलन पछिको स्थितिलाई हेर्ने र केलाउने हो भने मात्रै पनि यो कुरा छर्लंग हुन्छ ।तर नेपाली जनताको ठूलो समर्थन पाएको यो कम्युनिष्ट आन्दोलन आज अनेक बिकृति र बिसंगतिले अत्यन्तै आक्रान्त छ। त्यसले गर्दा यस आन्दोलनप्रतिको जनताको समर्थन गुम्ने र जनताको यो आन्दोलनले सही दिशा र गति प्राप्त गर्न नसक्ने गम्भीर खतरा पैदा हुँदै गएको छ । फलतः यस आन्दोलनले नेपाली जनता र राष्ट्रको हितमा काम गर्न सक्ने हो कि  होइन भन्ने आज ठूलो सन्देह उत्पन्न भएको र गम्भीर  प्रश्न पनि खडा भएको छ ।

कम्युनिष्ट आन्दोलनको आधारभूत धेय भनेको जनता र राष्ट्रले भोगिरहेका शोषण उत्पीडनका तत्कालीन र दीर्घकालीन तमाम समस्यालाई हल गर्ने दिशामा यो आन्दोनलाई सुस्पष्ट र दृढरूपमा खडा गर्नु हो । त्यसको निमित्त यो आन्दोलन हाक्ने कम्युनिष्ट नेता तथा कार्यकर्ताहरु बैचारिक,सैद्धान्तिक र नीतिगत किसिमले प्रष्ट दृष्टिकोण बनाएर तदनुरुप अघि  बढ्न तयार हुनु पर्दछ । आजको बिश्वको बद्लिदो परिबेश खाशगरी बिश्वमा बिज्ञान र प्रबिधिको क्षेत्रमा आएको र दिनानुदिन आइरहेको क्रान्तिकारी परिवर्तन र त्यसले ल्याउने सामाजिक चेतना तथा जीवन प्रकृयामा आउने परिवर्तनलाई राम्ररी आत्मसात गर्न यो आन्दोलनले सक्नु र सिक्नु पर्दछ । त्यसका लागि जनता र राष्ट्रका समस्या हल गर्ने अहिलेसम्मको सबैभन्दा बिकसित बैज्ञानिक सामाजिक सिद्धान्त अर्थात मार्क्सबादकोआधारभूत ज्ञानको गहिरो र सघन अध्ययन तथा त्यस आधारमा अर्थ–सामाजिक–राजनीतिक स्थितिको बिश्लेषण र सश्लेषण गर्ने र सही निचोड निकालेर अघि बढ्ने क्षमतादक्षता र निपूणता हासिल गर्न सक्नु पर्दछ । यसको अभावमा केवल हुल हाल  जम्मा गरेर जाल झेलका आधारमा नेतागिरी गर्ने र त्यसलाई कम्युनिष्ट आन्दोलनको संज्ञा दिने र खोल ओढाउने कार्यले यस  आन्दोलनको धेय र उदेश्य कदापि पूरा हुन सक्तैन । अरुको कुरा छोडेर हाम्रै देशको स्थितिले पनि यो याथर्थ औंल्याइरहेको छ ।

वास्तवमा कम्युनिष्ट आन्दोलन जनतालाई जगाउनेसंगठितरुपमा उठाउने र उनीहरुका यूगौंदेखिका दुःख कष्टबाट मुक्त गरेर उनीहरुलाई नै  अघि बढाउने एउटा उच्च मानबीय,  नैतिकतायुक्त र अग्रगामी आन्दोलन हो । यसले जनता र देशले भोगिरहनु परेका समस्याहरुको पहिचान गराउँदछ र तिनको परिवर्तनको बाटो औंल्याउँदै तिनबाट मुक्ति पाउने आन्दोलनकारी ऊर्जा,उत्साह र शक्ति निर्माण गर्नुपर्ने आवश्यकताको बोध गराउँदछ । त्यसैले यस आन्दोलनले समाज परिवर्तनको नियम – बर्ग संघर्षउत्पादन संघर्ष र बैज्ञानिक प्रयोगको शतत ज्ञान शोषण उत्पीडनमा परेका जन समुदायलाई अनिवार्यरुपमा हरहमेशा दिइनु पर्ने कुरामा सदा सर्बदा जोड दिन्छ । समाज परिवर्तनको मूख्य इञ्जिन (प्राइम इञ्जिन) बर्ग संघर्ष हो  किन भनिएको हो भन्ने कुराको आधारभूत र गम्भीर ज्ञान कम्युनिष्ट नेता कार्यकर्तामा अनिवार्यरुपमा हुनु पर्दछ भन्ने कुरा यसले निरन्तर औंल्याइरहेको र दर्शाइरहेको हुन्छ र हुनुपर्दछ ।

समाज र प्रकृतिका तमाम बिकास र परिवर्तनहरु त्यस समाज र प्रकृति भित्रका अधिशासित नियम (गभर्निङ्ग ल अफ सोसाइटी एण्ड नेचर) अनुसार परिचालित हुन्छन् । ती कसैको मनोगत इच्छा आकांक्षा र कर बल या जोर जबर्जस्तीले हुने कुरा होइनन् । त्यसैले आफुलाई कम्युनिष्ट नेता तथा कार्यकर्ताकोरुपमा प्रस्तुत गर्न चाहने कसैले पनि समाज परिबर्तनका यी आधारभूत कुरालाई राम्रोसँग बुझ्नब्याख्या र बिश्लेषण गर्न सिक्नु र सक्नु पर्दछ । त्यसै अनुसार समाज कुन चरण या उपचरणबाट किन गुज्रिरहेको छ भन्ने कुरा खुट्ट्याउन सक्नु पर्दछ र अन्तरबिरोधको पहिचान र परिचालन गर्न सक्ने प्रवीणता हासिल गर्न सक्नु पर्दछ ।

मार्क्सवादी द्वन्दात्मक भौतिकबादी बिश्व दृष्टिकोणले ‘बिपरीत तत्वको एकता र संघर्ष’ कसरी हुन्छ भन्ने कुरालाई अघि सार्दछपरिवर्तनले ‘मात्रात्मकबाट गुणात्मक स्थितिमा फड्को मार्ने’ कुरा कसरी हुन्छ भन्ने परिवर्तनको नियमलाई स्पष्ट पार्दछ र कसरी परिवर्तनको प्रकृयामा ‘निषेधको निषेधको नियम’(ल अफ नेगेसन अफ नेगेसन) लागु हुन्छ भन्ने अत्यन्तै महत्वपूर्ण कुरालाई आत्मसात गर्नुपर्ने आवश्यकताको बोध गराउँदछ । परिबर्त र परिबर्तनकाे प्रकृयाका यी आधारभूत र महत्वपूर्ण कुरा नबुझी नबुझाई कोही पनि कम्युनिष्ट हुन सक्तैन र कसैलाई पनि कम्युनिष्ट नेता कार्यकर्ता बनाउन पनि सकिदैन । तर यति अध्ययनले मात्र पनि पुग्दैन ।

परिवर्तनका यी आधारभूत नियमलाई सामाजिक ब्यवहारमा कार्यान्वयन गर्न सदा तत्पर र क्रियाशील हुनु अझ बढी कम्युनिष्ट आन्दोलनका अभियन्ताका लागि  आवश्यक छ ।यसले देश र जनताले भोगिरहेका समस्याहरुको गहिरो ज्ञान र ती समस्याबाट बाहिर निस्कने उपायहरुको निमित्त सघर्षको सही बाटो अख्तियार गर्न सक्नुपर्दछ भन्ने यथार्थलाई औंल्याउँदछ । बर्ग संघर्षलाई सही किसिमले नबुझ्नेनबुझाउने र सर्बहारा बर्गको अधिनायकत्व किन आवश्यक छ भन्ने कुराको सही अर्थमा बोध नगर्ने कुनै पनि नेता कार्यकर्ता  जुनसुकै र जतिसुकै ठूलो पदमा बसेर कम्युनिष्टको बिल्ला लगाए पनि र  जतिसुकै कम्युनिष्टको ‘रामनामी’ जपे पनि  कीमार्थ कम्युनिष्ट हुन  सक्तैन । किनभने कम्युनिष्ट बन्नु भनेको एउटा असल आचरणचिन्तनचरित्रको अर्को नाम त हुँदै होत्यसमा पनि कम्युनिष्टले सबै किसिमका अन्धबिश्वासकुरीतिपाखण्डरहस्य र तिलस्मी किसिमका सबै अबैज्ञानिक कुराहरुको सदा सर्बदा पर्दाफास गरिरहनु पर्दछ । त्यो ब्यवहारले देखाइरहनु पर्दछ । त्यसो नगरीकन शोषण र अन्यायको बिरुद्ध कम्युनिष्ट आन्दोलन साँच्चो अर्थमा खडा हुन पनि सक्तैन र त्यसले जनताको बिश्वास जित्न पनि सक्तैन । चुनाव मात्र जित्ने कम्युनिष्टको धेय हुँदा पनि होइन । यद्यपि त्यसलाई पनि त्यसका सीमा र सामर्थ्यहरुलाई बुझेर उच्च परिवर्तनका लागि जन चेतना जगाउन र जनतालाई अघि बढाउने आन्दोलनकारुपमा एउटा संघर्षको थलो या मञ्चकोरुपमा लिन  सकिन्छ  र लिनु पनि पर्दछ ।

यी तमाम कुराले प्रष्ट पार्दछन् कि कम्युनिष्ट हुन र रहिरहन सहज र सरल कुरा छैन । तर समाज र संसारका अगाडि साच्चै नै  असल मान्छे बन्ने हो भने कम्युनिष्ट हुने बाटोमा अग्रसर हुनै पर्दछ भन्ने कुरा पनि त्यत्तिकै सत्य हो । किनभने कम्युनिष्ट आन्दोलनले शोषणयुक्त समाजबाट अगाडि बढेर बिद्यमान समाजलाई शोषणमुक्त समाज बनाउने बाटो अख्तियार गरेको छ र त्यसै गर्नु पर्दछ भन्ने कुरामै यो आन्दोलन केन्द्रित छहुनुपर्दछ  । यो आन्दोलन कुनै ब्यक्ति बिशेषको या समूह बिशेषको पदपैसाप्रतिष्ठाका लागि नभएर बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्ति र सबै शोषित उत्पीडित जन समुदायको शतत प्रगतिको बाटोमा रहेका बिघ्न बाधाहरुलाई सदा सदाका निमित्त समाप्त पार्ने र निरन्तर पञ्छाउँदै जाने आन्दोलन हो ।

प्रष्ट छकम्युनिष्ट आन्दोलन कुनै रहर या बाध्यताको आन्दोलन नभएर समाज बिकास र प्रगतिलाई सही दिशा र गति दिने एउटा अनिवार्य र अपरिहार्य आवश्यकता हो । त्यसैले यसले तमाम मजदुरकिसानमहिलायूवा–बिद्यार्थीराष्ट्रिय पूँजीपतितथाकथित दलित अर्थात शिल्पी समुदायजनजातिमधेशीमुस्लिमअल्पसंख्यकसीमान्तीकृतलोपोनमुख समुदायको पक्षमा समग्रमा आधारभूत जनताको साथमा खडा हुनु पर्दछ भन्ने यसको पहिलो र आधारभूत शर्त हो । यसको अभावमा यो जनताको आन्दोलन कदापि बन्न सक्तैन । वास्तवमा श्रमजीवी जनताको एकताको खोजी गर्नु र बिश्वका सम्पूर्ण श्रमजीवी जनता एक हौं भन्नुको अर्थ पनि त्यही नै हो । तर अहिले देशमा जनताको पक्षमाराष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको पक्षमा खडा हुने कुरा नै ख्याल ठट्टा र हस्यौलीको कुरा जस्तो भएको छ ।

किनभने कम्युनिष्ट भनिने कतिपय ठूला र साना पार्टीका नेताहरु समेत पनि कम्युनिष्ट चरित्रबाट नराम्रोसित स्खलित भएर यो अत्यन्तै गम्भीर महत्वको आन्दोलनलाई सामान्य मागिखाने भाँडोमा परिणत गर्ने र त्यसकै लागि ती पार्टीहरुमा तस्करीकालोबजारी र दुइ नम्बरी धन्धा गर्नेहरुलाई समेत ढोका खुल्ला राखिएको छ र उनीहरुलाई रातो तुल ओछ्याएर स्वागत गर्न उद्यत रहने गरिएको छ । वास्तवमा ‘बिलाश र बैभवको बिल्कुलै गलत बाटोमा  (केही  अपवादलाई छाडेर)प्रायः सबै ब्यक्तिहरु नै तल्लिन भएर लागेपछि नै कम्युनिष्ट आन्दोलनप्रति नेपालमा नकारात्मक स्थिति पहिलेभन्दा आज झन बढेर बिकराल रुप लिएको हो । जसले गर्दा पारदर्शीता होइनजाल झेल र तिकडमबाजीलाई नै उनीहरुले अँगाल्ने र त्यसैमा महारत हासिल गर्ने गरेका छन् । जुन बिल्कुलै गैर कम्युनिष्ट बाटो- कम्युनिष्ट आन्दोलनभन्दा एकदमै भिन्न पाटो हो । देश  र जनताप्रति निष्ठात्याग र समर्पणको अभावका करण वास्तवमा आज कम्युनिष्ट आन्दोनलको प्रतिष्ठा र मर्यादामाथि नै ठूलो आँच पुगेको र पुगिरहेको छ ।

सामान्यतः नेपाली जन आन्दोलन र बिशेषतः नेपाली कम्युनिष्ट आन्दोलन यस्ता बिकृतिबाट बच्छ कि त्यसैमा फँस्छ त्यसले नै यसको भबिष्य के कस्तो बन्छ भन्ने कुराको निर्धारण गर्दछ । नाम मात्र कम्युनिष्ट पार्टी राखेर सबै गलत कुरा गर्दै जाने हो भने त्यो कम्युनिष्ट आन्दोलन कीमार्थ हुन सक्तैन । त्यो कम्युनिष्टको नाममा देश र जनतालाई धोका दिने र अल्मल्याउने अबाञ्छित प्रपञ्च मात्र हुन्छ । यो कम्युनिष्ट नैतिकताको कुरा बिल्कुलै हुदैन र कदापि हुन सक्तैन । यो त बाटो बिराएर या जानी जानी झोडीतिर पस्ने र फँस्ने मात्र कुरा हो ।  कम्युनिष्टको बिल्ला भिरेर जनतालाई झुक्याइदैमा जतिसुकै ठूलो पदमा पुगे पनि र जतिसुकै ठूलो संगठन बनाए पनि कोही पनि सही कम्युनिष्ट हुन सक्तैन । बरु ‘नील बर्ण श्यालको कथा’ दोहोरिने कुरा भने निश्चित प्राय: छ । नेपालका पछिल्ला राष्ट्रघाती कदमहरू खाशगरी एमसीसीएसपीपी र अतिक्रमणकारी कालाे नागरिकता बिधेयक जसरी नेपालमाथि लादिएको छ र लादिदैछ त्यसले देश उक्सनै नसक्ने गम्भीरतम संकटमा पर्ने र कम्युनिष्ट आन्दोलनलाई समेत घाेर बद्नाम गर्ने काम सीवाय अरु केही गर्दैन । देशलाइ बिदेशी शक्ति केन्द्रकाे खेल मैदानबाट रण मैदान बनाउने जुन खतरनाक प्रपञ्च  यति बेला अझ तीब्रतररूपमा बढेकाे देखिएदै छ यो अत्यन्तै गम्भीर  चिन्ता र चासाेको बिषय मात्र हाेइन सम्पूर्ण नेपाली जनता यो अपूर्बरूपमा बढ्दाे बाह्य हस्तक्षेपका बिरूद्ध  गाेलबन्द हुनुपर्ने अत्यन्तै संगीन घडीमा हाम्राे देश खडा हुन पुगेकाे या पुर्याइएकाे छ । यस्तो अत्यन्तै गम्भीर अबस्थामा सम्पूर्ण मतभेदहरूलाई  स्थगित गरेर देश र जनतालाई जाेगाउन एक डिक्का हुनु आजकाे सबैभन्दा ठूलाे राष्ट्रिय आबश्यकता बन्न पुगेकाे छ । देश र जनताप्रति समर्पित सबै शक्तिहरू  साबधान !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here