सावित्रालाई भायाेनेटकाे साथ

38

काठमाडौं । नेपाली महिला फुटबलकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला आफ्नो खेल जीवनकै सबैभन्दा चुनौतीपूर्ण मोडमा पुगेकी छन्। मैदानमा देशको झण्डा उँचो राख्दै निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी साम्बा हाल घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर रहन बाध्य भएकी छन्।

यस कठिन समयमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन ले आफ्नी ब्रान्ड एम्बेसडर साम्बाको उपचार तथा पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले उनको शल्यक्रिया र त्यसपछिको करिब आठ महिना लामो ‘रिह्याब’ प्रक्रियाका लागि आवश्यक सहयोगस्वरूप उक्त रकम उपलब्ध गराउने जनाएको हो।

साम्बाको उपचार र पुनः खेल जीवनमा फर्कन उल्लेख्य आर्थिक स्रोत आवश्यक पर्ने अवस्थालाई मध्यनजर गर्दै भायानेटले यो कदम चालेको बताइएको छ। “थाकेको हो, हारेको छैन” भन्ने साम्बाको अदम्य आत्मविश्वास र साहसलाई सम्मान गर्दै कम्पनीले उनलाई पुनः मैदानमा फर्काउन सानो प्रयास गरेको उल्लेख गरेको छ।

साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भायानेटले भनेको छ, “देशको गहना साम्बाको रिकभरीको हरेक पाइलामा हामी साथै रहनेछौँ। उहाँ चाँडै निको भएर मैदान फर्कने र देशलाई पुनः गौरवान्वित बनाउने कुरामा हामी विश्वस्त छौँ।”

कम्पनीले आफ्नो ब्रान्ड एम्बेसडरप्रति देखाएको यो साथले कठिन परिस्थितिमा पनि सरोकारवालासँग अटुट सम्बन्ध र भरपर्दो कनेक्सन कायम राख्ने आफ्नो प्रतिबद्धता पुनः स्पष्ट गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here