इरानमा बाढीका कारण ७६ जना मृत्यु

122

एजेन्सी / इरानमा बाढीका कारण ७६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा खोजी र उद्धारको कार्य जारी नै रहेकाले जनधनको क्षति अझ बढ्न सक्ने बताइएको छ । पछिल्लो समय इरानका दक्षिणपश्चिम क्षेत्रका दुई वटा प्रान्त बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन् ।

बाढीका कारण शुरुमा प्रायः सुक्खा भइरहने उत्तरपूर्वी इरानमा जनधनको क्षति भएको थियो । यहाँका गाउँ शहरबाट लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको थियो ।

अधिकारीहरुले इरानको पूर्वी क्षेत्रमा ठूलो वर्षा सहित बाढी आउने पूर्वानुमान गरेका छन् । बाढीका कारण इरानमा घरहरु, सडकहरु, पूर्वाधार र कृषि क्षेत्रमा व्यापक नोक्सानी गरेको छ ।

‘चौध हजार किलोमिटरभन्दा बढी सडक क्षतिग्रस्त भएको छ,’ यातायात मन्त्री मोहम्मद इस्लामीले संसदमा बताएका छन् । इर्ना समाचार संस्थाका अनुसार मन्त्री इस्लामीले बाढीका कारण सातसय २५ वटा पुल पूर्णरुपमा क्षतिग्रस्त भएको जानकारी दिए ।

इरानी मौसम विज्ञान विभागका प्रमुख साहार ताजबख्सले दशकौंदेखिको सुक्खाका कारण मात्र बाढीले नोक्सान नगरेको स्पष्ट गर्दै जलवायू परिवर्तन र विश्वव्यापी तापमान वृद्धिले पनि समस्या निम्त्याएको बताए । इस्लामिक मुलुक इरानले छिमेकी मुलुकहरुबाट राहत र सहयोग लिएको थियो । फ्रान्सले गत शनिबार २१० वटा टेन्ट र ११४ वटा पम्प उपलब्ध गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here