संखुवासभा । संखुवासभामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह स्थलका मजदुरले काम ठप्प पारेका छन् ।
६ महिनादेखि तलब भत्ता नपाएपछि एक हजार ५ सय कामदार आन्दोलित भएका हुन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृह चिचिला गाउँपालिका —२ पुखुवामा कार्यरत मजदुर तथा पेटी ठेकेदारले बुधबार बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन् ।
६ महिनादेखि मजदुरहरूले तलब नपाएको भन्दै बुधबारदेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । निर्माण कम्पनीले समयमा तलब भुत्तानीका लागि चासो नदेखाएपछि असुन्तष्टि जनाउँदै मजदुर तथा पेटी ठेकेदारले काम रोकेका हुन् ।
आयोजनाको ड्याम फ्याक्सिदा र विद्युत् गृह स्थल पुखुवामा ३ हजार भन्दा बढी भारतीय र नेपाली कामदारले काम गरिरहेको छन् । ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजना सम्पन्न गर्न एक खर्ब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आय कर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त विकास सम्झौता पीडीएमा उल्लेख गरिएकाे छ ।


















