काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले ‘कैलाश मानसरोवर यात्रा’ सञ्चालन गर्न लागेको सार्वजनिक भएपछि नेपाल सरकारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा भइरहेका गतिविधिप्रति आपत्ति जनाउँदै भारत र चीन दुवै राष्ट्रलाई नेपालको स्पष्ट अडानबारे पुनः अवगत गराएको हो।
परराष्ट्र मन्त्रालयले यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटनजस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको उल्लेख गरेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीद्वारा जारी विज्ञप्तिमा लिपुलेक क्षेत्र नेपाली भू-भाग रहेको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराई सकिएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ- ‘सन् १८१६ को सुगौली सन्धिबाटै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग छ। नेपाल र भारतबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुरूप, ऐतिहासिक सन्धि-सम्झौता, तथ्य, नक्सा तथा प्रमाणका आधारमा सीमा समस्या समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध छ।’



















