काठमाडौं । चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको दाबीसहितको समाचारले भारतीय सञ्चारमाध्यममा चर्चा पाएको छ।
नेपालमा चीनका राजदूत चाङ माओमिङले अंग्रेजी दैनिक काठमाडौं पोस्टमा एउटा लेख प्रकाशित गर्दै नेपालप्रति चीनको योजना सार्वजनिक गरेका दाबीसहित भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले एउटा लामो समाचार छापेको छ।
नवभारत टाइम्सका अनुसार उनले लेखमा राजदूत माओमिङले भनेका छन्, ‘नेपाली भूमिलाई चिनियाँ हितलाई हानि पुर्याउने काममा प्रयोग गरिने छैन।’
माओमिङले काठमाडौं पोस्टमा एक लेखमा नेपाल र चीनबीचको सम्बन्धबारे धेरै कुरा उल्लेख गरेको जनाउँदै उक्त अनलाइनले जसमध्ये सबैभन्दा महत्वपूर्ण बीआरआई परियोजना रहेको जनाएको छ। जुनलाई राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी योजना भनिएको छ ।
राजदूत माओमिङले आफ्नो स्तम्भमा लेखेको लेखको भारतमा चर्चा पाएको हो । लेखअनुसार चीनले नेपाललाई नजिकको छिमेकीका रुपमा लिएको भनेर लेखेको कुराले भारतमा चर्चा पाएको हो ।
‘चीनले सधैँ नेपालसँगको सम्बन्धलाई आफ्ना छिमेकी देशहरूसँगको कूटनीतिक एजेन्डामा प्राथमिकता दिँदै आएको छ। नेपालप्रतिको चीनको मित्रताको नीतिमा सबै नेपाली जनता समावेश छन्। चीनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षामा निरन्तर समर्थन जारी राख्नेछ, नेपाली जनताको समर्थनमा नयाँ सरकारलाई सुचारू रूपमा शासन सञ्चालन गर्न सहयोग गर्नेछ । नेपाललाई उसको राष्ट्रिय वास्तविकताअनुसार विकासको बाटो अपनाउन मद्दत गर्नेछ’, राजदूत माओमिङले उक्त लेखमा भनेका छन् ।
नेपालको लागि चीनको रोडम्याप?
उनले काठमाडौं पोस्टमा दुवै पक्ष उच्च गुणस्तरीय ‘बेल्ट एण्ड रोड’ सहयोगअन्तर्गत आफ्ना विकास रणनीतिहरूलाई एकअर्कासँग मिलाएर लैजाने, विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई गहिरो बनाउने र द्विपक्षीय सम्बन्धको गुणस्तर तथा दक्षतालाई बढाउने कुरामा सहमत भएका भनेका छन्। यसका लागि चार प्राथमिकता क्षेत्रहरू पहिचान गरिएका उनले चर्चा गरेका छन् ।
पहिलो : सीमापार यातायात, सीमा पूर्वाधार र हवाई सम्पर्कको विकासलाई तीव्रता दिएर दुवै देशबीच ‘कनेक्टिभिटी’ सुधार गर्ने, जसले जनता-जनताबीच आदान-प्रदानलाई सजिलो बनाउँछ, लजिस्टिक्स दक्षता बढाउँछ।
दोस्रो : बिजुली, पावर ग्रिड र स्वच्छ ऊर्जा क्षेत्रमा व्यावहारिक सहयोग विस्तार गरेर ऊर्जा सहयोगलाई गहिरो बनाउनेछ । नेपालको ऊर्जा सुरक्षा तथा हरित विकास क्षमता बढाउनेछ।
तेस्रो : द्विपक्षीय व्यापार संरचनालाई सुधारेर आपसी लाभ हुने व्यापारिक सहयोगलाई प्रोत्साहन दिनेछ । नेपालमा लगानी र काम गरिरहेका चिनियाँ कम्पनीहरूलाई निष्पक्ष, कानुनमा आधारित र अनुकूल व्यावसायिक वातावरण बनाउने तथा द्विपक्षीय आर्थिक तथा व्यापारिक सहयोगको आकार र गुणस्तर दुवै बढाउने।
चौथो : शासन अनुभवमा आदान-प्रदानलाई बलियो बनाउने, जनता-जनताबीच आदान-प्रदानलाई बढावा दिने र शिक्षा, युवा, स्थानीय सरकार तथा मिडिया क्षेत्रमा सहयोग विस्तार गर्ने, जसले नेपाल-चीन सम्बन्धको आधार जनसमर्थनलाई अझ मजबुत बनाउँछ।
उक्त लेखअनुसार चीनको रोडम्यापमा नेपालभित्र बीआरआईअन्तर्गत एयरपोर्ट र अन्य पूर्वाधार बनाउने योजना अघि सारिएको छ। यो काम चीनले अन्य धेरै देशमा गरिरहेको छ। चीनले यस्तो गर्दा ती देशहरूलाई ऋण थोपरेको आरोप पनि लागिरहन्छ।
चीनले बिजुली, पावर ग्रिड र स्वच्छ ऊर्जामा ठूलो लगानी गर्दै आएको छ। अन्तिममा भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले लेख्छ, ‘त्यसैले प्रश्न उठेको छ- के प्रधानमन्त्री बालेन शाह चीनको बीआरआईसम्बन्धी कुराहरूमा फस्ने छन् ?’


















