काठमाडौं । सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले तातोपानी नाका सञ्चालन गर्न सडकको समस्या नरहेको बताएका छन् ।
उनले सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको जनाए ।
अनुगमनका क्रममा प्रमुख भण्डारीले सडकका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको जनाए।
भण्डारीकाअनुसार वर्षायाममा समेत नेपालतर्फको सडकबाट एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएका थिए । वर्षा रोकिएसँगै अहिले दुईतर्फी सवारी सञ्चालनका लागि सडक सुधारको काम सुरु गरिएको उनले जानकारी गराए ।
पछिल्लो समय नेपालतर्फको सडक अप्ठ्यारो भएका कारण चिनियाँ पक्षले सवारी आवागमन रोकेको भएपछि वास्तविक अवस्था त्यस्तो नरहेको उनको दाबी छ । नाका बन्द हुनुको कारण नेपालतर्फको सडकको अवस्था भएको भन्ने चर्चा चलेपछि चिनियाँ प्राविधिक टोलीसहितको संयुक्त अनुगमन गरिएको उनले जनाए ।
भण्डारीले नाका खुलेको अवस्थामा नेपालतर्फको सडकले सवारी आवागमनमा अवरोध नगर्ने दाबी गरे । उनले भने, ‘सडकको हिसाबले गाडी पास नहुने अवस्था छैन र त्यसलाई अलिकति सुधार गर्नुपर्ने भयो भने एक–दुई दिनमा हामीले त्यो सुधार पनि गर्छौँ । अहिलेसम्म बर्खा नै थियो । हामीले वान वे पास गरिरहेका थियौँ, त्यो वान वे पासलाई अहिले पनि समस्या छैन । बर्खा रोकिएपछि हामीले यसलाई टु वे पास गर्नसक्छौँ ।’
उनले अगाडि थपे, ‘हामीले दुई–तीन दिनमा यो सबै क्लियर गर्छौँ । यहाँबाट जुनसुकै गाडी लैजानका लागि आवश्यक तयारी गर्छौँ । नाका खोलेको अवस्थामा एक घण्टा पनि गाडी रोकिने अवस्था छैन । सरासर गाडीहरू जाने अवस्था छ । नाका खोल्यो भने बाटोले रोकिने अवस्था छैन ।’ यसैबीचमा ४५ फिटका ५७ वटा कन्टेनरसमेत नेपालतर्फबाट पास गरिएको उनको धारणा छ । उनले बाटोमा अड्किएका लोडेड सवारीसाधनलाई समेत गन्तव्यतर्फ पठाइसकिएको जनाए ।
सडक विभागका तर्फबाट नेपालतर्फको सडक सवारी सञ्चालनका लागि तयार रहेको उनले स्पष्ट पारे ।
कोदारी राजमार्गमा पहिलो गएपछि तातोपानी नाका बन्द रहेको छ । यस्तै १० भदौको रसुवा बाढीका कारण केरुङ नाका र हालैको बाढीले पहिरो जाँदा मुस्ताङका कोरला नाका समेत बन्द रहेको छ ।
चीनतर्फका मुख्य नाका बन्द भएपछि सरकारले तातोपानी नाका सञ्चालनका लागि पहल गरिररहेको छ ।


















