कांग्रेसमा पहिलो पटक वरिष्ठ उपसभापति थपिने

5

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकार बढाउँदै पदाधिकारी पनि थप्न लागेको छ ।

कांग्रेसले जारी पन्ध्रौं महाधिवेशनबाट पहिलो पटक वरिष्ठ उपसभापति पद सिर्जना गरी समग्रमा पदाधिकारीको संख्या पनि थप्दैछ ।

केन्द्रीय समितिले पारित गरेको विधान संशोधन प्रस्तावमा एक वरिष्ठ उपसभापतिसहित ४ उपसभापति, एक महिलासहित ३ महामन्त्री र १४ सहमहामन्त्रीको व्यवस्था गरिएको छ । तीन सहमहामन्त्री र एक कोषाध्यक्ष सभापतिले मनोनीत गर्नेछन् । सभापतिसहित समग्रमा २३ पदाधिकारी हुनेछन् ।

१९ पदाधिकारी महाधिवेशनबाट चुनिने छन् । १४ औं महाधिवेशनमा १६८ सदस्यीय केन्द्रीय समिति रहेकोमा विशेष महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको थियो । तर, पदाधिकारीसहित केन्द्रीय सदस्यहरुमा आकांक्षीको संख्या बढेपछि सबैलाई समेट्न कांग्रेसले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बनाउँदै पदाधिकारी पनि थप्ने तयारी गरेको हो ।

अब केन्द्रीय समिति २८१ सदस्यीय हुनसक्ने प्रवक्ता देवराज चालिसेले बताए । ‘अन्तिम टुंगो लागिसकेको छैन, बन्दसत्रमा हेरफेर पनि हुनसक्छ’ उनले भने । महाधिवेशनअन्तर्गत आज र भोलि बन्दसत्र चल्ने छ । पर्सिबाट निर्वाचन प्रक्रिया सुरु हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here