नेपाल कम्युनिष्ट पार्टीको हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना !

1

काठमाडाैं ।  यो वर्ष नेपाल र सम्पूर्ण नेपालीका लागि एउटा कठोर परीक्षा, ठूलो सन्ताप र अपार दुःखको वर्ष बन्न पुगेको छ। प्रकृतिले एकपछि अर्को गर्दै दिएको शृङ्खलाबद्ध असैह्य आघातले आज हाम्रो सिंगो देश शोकको गहिरो सागरमा डुबेको छ।

गएको भदौ १० गते मात्र रसुवा–भोटेकोशी क्षेत्रमा हिमपहिरो स्खलनका कारण उत्पन्न अभूतपूर्व र विनाशकारी बाढीले पु¥याएको अपूरणीय क्षतिको घाउ अझै निको हुन पाएको थिएन। त्यो कारुणिक पीडाले विदीर्ण भइरहेका नेपाली जनतामाथि पुनः हजो असौज २५ गते बुढीगण्डकी नदीमा आएको लेदोसहितको अर्को भयानक बाढीले नेपाली जनतमाथि ठूलो बज्रपात थपिदिएको छ। धनजनको यो विशाल क्षति र क्षत–विक्षत भएका बस्तीहरूको असैह्य पीडादायक दृष्यले सिंगो नेपाली राष्ट्रको छाती चिरा–चिरा पारेको छ।
यस अत्यन्तै दुःखद घडीमा नेपाली जनताले मनाउँदै आएका दसैँ, तिहार,नेपाल सम्बत, छठ, इद र उधौली जस्ता साँसकृतिक चाडपर्वहरूको संघारमा आइपरेको यस महाविपत्तिले नेपाली जनताले मनाउने गरेका यी चाडपर्बहरुको क्षणिक उल्लास, उमंग र परस्पर सद्भावका उज्याला क्षणहरू पनि खोसेर लगेको छ। आज नेपालीका घर–आँगनहरू खुसीले होइन, पीडा र आँसुले भरिएका छन्। तर, यो इतिहासकै कठिन र कहालीलाग्दो घडीमा पनि हामीले विचलित नभई धैर्य धारण गर्नुको कुनै विकल्प छैन।
अतः यस अदम्य दुःखको घडीमा नेपाल कम्युनिष्ट पार्टी प्राकृतिक विपत्तिको क्रूर चपेटामा परेर अकालमै मृत्युको ग्रास हुन पुग्नुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, साथै नेपाल भ्रमणका क्रममा यसै विपद्मा परी ज्यान गुमाउनुभएका विदेशी नागरिकहरूप्रति हार्दिक एबं भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । राष्ट्रिय शोकको यस स्तब्ध क्षणमा आफ्ना अत्यन्तै प्रिय आफन्त गुमाउनुहुने नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध कमरेडहरुकासाथै सम्पूर्ण पीडित परिवार जनमा पार्टीको तर्फबाट गहिरो तथा हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, बाढी–पहिरोमा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौं ।
इतिहास साक्षी छ, नेपाली जनता जस्तोसुकै भयावह संकटमा पनि सम्हालिएर उठ्न सक्ने वीर,संघर्षशील र सहनशील जनता हुन् । यो महाविपत्तिबाट पार पाउन यसबाट शिक्षा लिदै नेपाली जनता फेरि पनि एक अर्कासँग हातेमालो गर्दै एक भएर उठ्नेछन् भन्ने कुरामा नेपाल कम्युनिष्ट पार्टी बिश्वस्त छ । भत्किएका संरचनाहरू फेरि ठडिनेछन् र सुस्ताएको जीवनले फेरि गति लिनेछ। नेपाली जनताको अदम्य साहस र बाँच्ने बलियो मानवीय इच्छाशक्ति (जीजीविषा) को मूलबाटोमा हिँड्दै बर्तमान यो संकटलाई परास्त गरेर सहज जीवनतर्फ अघि बढ्न नेपाली जनता सक्षम हुनेछन् भन्ने पूर्ण विश्वास नेपाल कम्युनिष्ट पार्टी राख्दछ ।
यस अत्यन्तै दुःखद राष्ट्रीय घडीमा राज्यका सम्पूर्ण निकाय, सामाजिक संघसंस्था र आम नागरिकहरूलाई मानबीय उद्धार, राहत र पुनस्र्थापनाको महायज्ञमा एकाकार भई सम्पूर्ण शक्तिकासाथ प्रभावकारी र परिणामदायीरुपमा जुट्न पनि हामी नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट हार्दिक अपिल गर्दछौं ।
विपत्तिले हामी नेपालीहरुका घरहरू भत्काए पनि हाम्रो आत्मविश्वास र एकता कहिल्यै भत्काउन सक्ने छैन भन्ने कुरामा हामी बिश्वस्त छौं !

लोकनारायण सुबेदी
संयोजक
नेपाल कम्युनिष्ट पार्टी
२०८३ असोज २६

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here