कुनै पनि मुलुकको समृद्धिलाई गलत ‘ट्याग’ लगाउादै हमला बोल्ने अमेरिकी प्रवृत्ति नौलो होइन । कुबेत र इराकले तेलबाट समृद्धि हासिल गरेको देख्न नसकेर विभिन्न बहानामा द्वन्द्वको अवस्था सिर्जना गरी सैन्य कारबाहीमार्फत ती मुलुकहरूको अर्थतन्त्रलाई तहसनहस बनाएको अमेरिकाले दक्षिण एसियाली मुलुक अफगानिस्तानलाई पनि रणभूमि बनाएर छोड्यो । आफूलाई विश्वको सुपरपावरका रूपमा टिकाइराख्ने रणनीतिअनुसार विभिन्न मुलुकमा द्वन्द्व सिर्जना गर्ने र समृद्धिको पथमा लम्किएका मुलुकहरूलाई तहसनहस बनाउनेदेखि ती मुलुकहरूमा आफौले हतियार बिक्री गरेर आफ्नो अर्थतन्त्रलाई सबल बनाउनु पनि अमेरिकाको पुरानै प्रवृत्ति हो । आफू बाहेक अरुको समृद्धिलाई स्वीकार्न नसक्ने अमेरिकाका लागि पछिल्लो समय एसियाली मुलुकहरू चुनौती बन्दै गइरहेका छन् । एसियामा विशेष गरी चीनले हरेक ढंगले अमेरिकालाई चुनौती दिन थालेपछि चीन अमेरिकाका लागि टाउको दुखाइको विषय बन्दै गइरहेको छ । चीनलगायतका अन्य कतिपय एसियाली मुलुकहरूले समेत आर्थिक रूपमा राम्रो प्रगति गर्दै गइरहेका छन् । यो विषय अमेरिकाका लागि स्वीकार्य विषय होइन । जसले गर्दा अमेरिका एसियाली मुलुकहरूमा जसरी पनि द्वन्द्व सिर्जना गर्ने र चीनलाई घेर्ने रणनीतिमा अघि बढिरहेको छ । यसका लागि दक्षिण एसियाली क्षेत्रमा आफूलाई उदाउादो अर्थतन्त्रका रूपमा विकास गरिरहेको भारत अमेरिकाको स्वार्थमा काम गर्न तयार देखिादा समस्या थप जटिल बन्दै गइरहेको छ ।
विश्व अर्थतन्त्रका रूपमा उदाउादै गरेको चीनले छिमेकी मुलुकलगायत दक्षिण एसियाली मुलुकमा आफ्नो बलियो उपस्थिति जनाउन थालेको छ । चीनले हालै मात्र बंगलादेशसाग सम्झौता गरी ठूलो ऋण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत आएका चिनियाा राष्ट्रपति सी जिङपिङले बंगलादेशमा भ्रमण गरी ठूलो धनराशी सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चीनले पाकिस्तान तथा श्रीलंकालगायतका मुलुकसाग पनि आर्थिक साझेदारीका लागि प्रयास गरिरहेको छ । नेपालमा पनि चीनले उच्चस्तरीय भ्रमणमार्फत आफ्नो उपस्थितिलाई बलियो बनाउने अभियानमा लागेको देख्न सकिन्छ । यसरी एसिया र विशेष गरी दक्षिण एसियामा महत्वपूर्ण उपस्थिति जनाउन चीनले प्रयास सुरु गरेपछि दक्षिण एसियामा स्वघोषित दादा भारत समेत चिढिएको छ । जसले गर्दा विश्व शक्तिका रूपमा आफ्नो निरन्तरता चाहने अमेरिका र दक्षिण एसियामा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउने चाहने भारतका बीचमा गठजोड बन्न पुगेको छ ।
अमेरिका भारतमार्फत यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिमा रहेको छ । केही समयअघि अमेरिका र भारतका बीचमा भएको रक्षा सम्झौता होस् वा अन्य विभिन्न फोरममा अमेरिका र भारतको संयुक्त उपस्थिति, यसले अमेरिकाले भारतलाई आफ्नो रणनीतिबाट सञ्चालन गरिरहेको पुष्टि गर्छ । अर्काेतर्फ भारतले पनि अमेरिकाको स्वार्थमा सञ्चालन भइरहेको आरोपको खण्डन नगरी चीनको चासो रहेका क्षेत्रलाई जसरी भए पनि कमजोर बनाउने बाटोमा अघि बढिरहेको देख्न सकिन्छ । भारतले आगामी नोभेम्बरमा हुने भनेको सार्क सम्मेलनमा पाकिस्तानलाई दोष लगाउादै बहिष्कार गर्ने निर्णय गरेको छ । जब कि भारतको उक्त निर्णय आफ्नो स्वार्थका लागि भन्दा पनि चीन र पाकिस्तानको बढ्दो निकटतालाई चुनौती दिनका लागि गरिएको निर्णय मात्र हो भन्ने कुरा प्रष्ट छ । चीनसाग राम्रो सम्बन्ध रहेका मुलुकसाग भारतले सम्बन्ध बिगार्ने प्रयास गरेको सबैभन्दा ठूलो उदाहरण नेपाल नै हो । झट्ट हेर्दा यस्ता गतिविधि भारतले आफ्नै विवेकबाट गरेजस्तो देखिए पनि त्यो उसको स्वार्थभन्दा बढी अमेरिकामार्फत चीनलाई चुनौती दिने र घेराबन्दी गर्ने एउटा रणनीति रहेको प्रष्ट हुन्छ । यसरी भारत अमेरिकाका लागि प्रयोगको साधन बनिरहेको छ भने अमेरिकाले भारतमार्फत यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको छ । जुन समग्र एसिया क्षेत्रकै लागि चुनौतीपूर्ण र खतरा रहेको छ ।

















