वास्तविक कुहिरोभित्रको यात्रा अनुभूति

179

डा. दिपेन्द्र रोकाया
मेरो ज्यानमा पखेटा भएको भए म कति उड्थेँ हुँला र कहाँ–कहाँ पुग्थेँ हुँला ? यसको कल्पनै नगरौं । न मसँग पखेटा छ, न मसँग मैले चाहेजति भ्रमण गर्ने अवसर र खर्च । तर जे जति काम आउँछन्, त्यसैमा भ्रमण गर्छु, रमाउँछु । यसक्रममा मैले सिंगो नेपालको मनाङ र मुस्ताङबाहेक अरु सबै जिल्लामा पुगेको छु । अझ पूर्व इलामदेखि पश्चिम हुम्लासम्म पैदलयात्री भई छापामार लोकमार्गबाट हिँडेको छु ।

तराईको पूर्व–पश्चिम लोकमार्गमा कैयौंपटक यात्रा गरेको छु । दक्षिणको छिमेकीले सीमा मिचेको भनिएको ६४ स्थानमा तत्कालीन मालेका अखिलसँग पुगेको छु । त्यसका अलवा आफैं लिपु लेक, कालापानी हुन्, वा अरु सीमा क्षेत्र पुगेको छु । यसले मलाई नेपाली समाज चिन्ने मौका मिल्यो, मैले यस भ्रमणहरूका क्रममा विश्वविद्यालयमा पढाइ हुने सन्दर्भ सामग्रीभन्दा निकै उपयोगी पाठ्य सामग्री पाएको महसुस गर्दै आएको छु ।
कुरो अघिल्लो साताको हो । सेफरवल्र्ड नेपालको कार्यक्रम अनुगमन तथा मूल्याङ्कनका लागि पूर्व विराटनगरतिर लाग्दा मौसमी प्रतिकूलताका कारण १३ हजार फिटमाथि आकाशमा उडिरहेको जहाज करिब ७ सेकेण्ड झरेको थियो । यसबाट प्रायः यात्रु डराएका थिए । मेरो अनुभवमा पाँच वर्ष पहिले हुम्लामा हिउँ पर्दापर्दै ल्याण्ड भएको सीता एयरको जहाजमा चढेर नेपालगञ्ज आउँदा पनि त्यस्तै भएको थियो । त्यतिबेला म अन्तिम सिटमा एयर होस्टेज महिलासँगै थिए ।

जहाज दैलेखको आकाशमा पुगेपछि पानीमा माछाले उफ्रेर फेरि पानीमा पसेझैं उल्टो गतिमा सोझै तल झरेर हुत्त माथि उफ्र्यो, सबैको हंशले ठावै छोडेको थियो । एयर होस्टेजले नडराउन अनुरोध गरिरहे पनि उनी पनि त्यस जहाजमा यात्रु समान थिइन्, उनको अनुहारमा आतंकित भाव प्रकट भइरहेको थियो । केवल जिम्मेवारीका कारण नहड्बडाउन अनुरोध गरिरहेकी थिइन् । यही प्रक्रिया विराटनगर यात्राको क्रममा बेहो¥यौं ।
यस्तै भयो, वसन्त ऋतुको आगमनसँगै नेपालगञ्जतिर लाग्दा । काठमाडौंदेखि नेपालगञ्जसम्म कुहिरो र बादलभित्रको यात्रा । यस्तो अत्यासलाग्दो आकाश यात्रा कहिल्यै परेको थिएन । अचम्मै भयो । तर, यसबाट नयाँ अनुभव भयो । बादलको प्राकृतिक सौन्दर्य हेर्न पाइयो । कपासी बादल हेर्दा रमाइलो लाग्या, भेडाको ऊनजस्तै । तर, छिनछिनमा कैयौं नाकै ठोकिने पहाडजस्ता देखिने कुहिरीमण्डलभित्र छिर्दा अत्यासलाग्दो भयो । हवाईजहाजको झ्यालबाट बाहिर मात्र हेरेँ । यो पनि एउटा नयाँ अनुभव थियो मेरो ।
पृथ्वी अथवा अरु कुनै ग्रहको सतहमाथि वायुमण्डलमा देखिने पानीका वाष्पकण अथवा जमेको हिउँको स्फटिकको द्रव्यमानलाई बादल भनिन्छ । पृथ्वीको वायुमण्डलको बादलको अध्ययन मौसम विज्ञानले गर्दछ । बादलहरूको वर्गीकरण गर्दा १६,५०० फीटदेखि ५,००० मीटरसम्म रहेको बादललाई उच्चस्तरीय बादल मानिन्छ । हामी यही उच्च स्तरको बादलभित्र यात्रा गरिरहेका थियौ । बीच–बीचमा जहाज हल्लने र तलमाथि गर्दा भने हामी नजिकका साथीहरूतिर पुर्लुक्क हेराहेर गर्न पुग्दथ्यौं । तर आत्मविश्वास के थियो भने यात्रामा हवाई यात्रा नै सबभन्दा सुरक्षित यात्रा हो । पूर्व जाँदा बुद्ध एयरको क्याप्टेन आर. के. श्रेष्ठ र पश्चिम जाँदा क्याप्टेन गौरव बोहरा थिए ।
यस्तै ६,५०० देखि १६,५०० फीटसम्मको उचाइमा फैलिने बादललाई मध्यमस्तरीय बादल मानिँदो रहेछ । यसैगरी जमिनदेखि ६,५०० फीटसम्म फैलिएको बादललाई निम्नस्तरीय बादल मानिने रहेछ । जब बादल आकाशमा नउडी जमीनतिर लहसिन्छ, त्यही अल्छी बादललाई हामी कुहिरो भन्ने रहेछौं । रातमा जमीन सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै गई वायुले आफ्नो गर्भभित्रका जलकण ओकलेर कुहिरो निर्माण गरिदिँदो रहेछ । वायुले आफ्नो पारदर्शिता गुमाएमा हामीले टाढाका वस्तु देख्न सक्ने रहेनछौं । कुहिरो बाक्लो भयो भने त्यसलाई हुस्सु भन्ने गर्दछौं । त्यतिबेला थोरै दूरीका वस्तु पनि स्पष्ट हुँदैन । पुस माघतिर रातको तापक्रम अझ शीघ्रातिशीघ्र घट्न सक्छ । त्यस्तो स्थितिमा वायुमा रहेको बाफ कुहिरोमा परिणत हुन नपाउँदै जम्न थाल्छ, त्यसलाई तुसारो भन्ने गरिन्छ । खुल्ला ठाउँ र चौरहरू चिनी छरेझैँ सेताम्य हुन्छन् । तर, वातावरण अधिक प्रदूषित छ भने तुषारो पर्न सक्दैन । यसैले पहिले पहिले तुसारो पर्ने काठमाडौं आजकल हिउँदमा तुसारो परेको देखिँदैन ।
अँ, म भन्दै थिएँ, मेरो हवाई यात्रा । जो कुहिरोबाट सुरु भएर बादल तलमाथि गर्दै जाँदाको अनुभव । यसैबेला पश्चिम यात्राको क्रममा सँगै बसेका मञ्जु रिजाललाई एकैछिन भए पनि मैले हिमालय क्षेत्र र निलो आकाश देखाएँ । उनले त्यस्तो देख्दा स्वर्ग भनेको त्यही होला जस्तो लाग्छ भनी सुनाइन् । मैले सहमति जनाएँ । पुराणहरूमा उद्धृत गरिएको स्वर्ग क्षेत्र भनेको हिमालय क्षेत्र नै हो, जो निलो आकाशमुनिको स्वच्छ हावापानी भएको प्राकृतिक मनोरम र सुगन्धित छ । यो भर्जिनल्याण्ड हाम्रो गौरवभूमि पनि हो । यो स्वर्गभूमिमा जन्मेका हामीहरू एकाध राजनीतिक, प्रशासनिक, सुरक्षा, न्याय र मिडिया नेतृत्वले नैतिक इमान्दारी गुमाउँदा भाडाका मान्छे उत्पादनकर्ता भइरहेका छौं ।
यो जहाजमा उडिरहँदा मैले जनयुद्धरूपी सशस्त्र आन्दोलनको जहाजसँग हाम्रो जीवनचर्या तुलना गरेर हेरेँ । यो जहाजमा यात्रा गरिरहेका हामी यात्रुझंै जनयुद्धमा सहभागी भएर यहाँसम्म आइपुग्दा हाम्रो राजनैतिक नेतृत्वले जनयुद्धको उडान भर्न त सक्यो तर त्यस उडानलाई सफलतापूर्वक ल्याण्ड गर्न सफल नभएको अनुभूति भयो । यसको परिणाम हामीले भोगिरहेका छौं । यो अनुभवसिद्ध भएर बसेको द्वन्द्वलाई सही रूपमा व्यवस्थापन गर्न नसक्दा नजानिँदो रूपमा अरु संगठित द्वन्द्वहरू जन्मिरहेको देखिन्छ ।

हामीहरू नेपाली समाजको सही रूपमा रूपान्तरण भएको देख्न चाहन्छौं । तर यो हाम्रै राजनीतिक, प्रशासनिक, सुरक्षा, न्याय र मिडिया नेतृत्वबाट व्यवस्थापन हुनुभन्दा विषयान्तर भइरहेको पाइन्छ । जसका कारण हामी नेपालीहरू अझै कुहिराको काग भएर कति समयसम्म राजनीतिक संक्रमणलाई देखाएर उम्कन पाउँछौं र ? यो यात्रा ४५ मिनेटको थियो, समयमै ल्याण्ड भयो । तर, नेपालको राजनीतिक उडान भर्ने (एजेण्डा उठाउने) तर ल्याण्ड गर्न (व्यवस्थापन) गर्न डराउनाले जनतामा वास्तविक परिवर्तनको अनुभूति नभएको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here