जीवन सधैं सरल रेखामा हिँड्दैन । जीवन जिउने क्रममा थुप्रै उतारचढावहरु आउँछन् । अझ वैवाहिक जीवनमा थुप्रै जिम्मेवारी बहन गर्नुपर्छ, चुनौती र समस्याहरु भोग्नुपर्छ । त्यस्तो जोडी नै सफल मानिन्छ, जसले यस्ता उतारचढावहरुलाई पनि एकअर्काको साथले सहजै आत्मसात् गर्छन्, अप्ठ्यारारुपी पहाडहरु एकअर्काको सहयोगमा चढ्छन्, समस्यारुपी जङ्घारहरु पनि सँगै तर्छन् । यस्तै, सफल जोडीमध्येको एक हो, डा. कृष्णहरि बराल र सुष्मा बरालको जोडी ।
साहित्यकार, वरिष्ठ गीतकार, कुशल प्राध्यापकजस्ता बहुविशेषणले सुशोभित व्यक्तित्व हुन् डा. कृष्णहरि बराल । उहाँकी धर्मपत्नी सुष्मा पनि पूर्वप्राध्यापक तथा हाल वकिल हुनुहुन्छ । आधा प्रेम र आधा मागी विवाह भएको सुनाउने यो जोडीको पहिलो भेट भने रोमाञ्चक रहेछ । डा. कृष्णहरिले भन्नुभयो, ‘त्यो समयमा म कीर्तिपुरस्थित ल्याबोरेटरी विद्यालयमा नेपाली विषय अध्यापन गराउँथे । त्यही क्रममा मैले कुनै कारणवश एक छात्रालाई गाली गरेँ । ती छात्रा उनको बहिनी रहिछिन् । त्यसपछि उनी मकहाँ आफ्नो बहिनीलाई गाली गरेको विषयमा कुरा आइन् ।’ त्यो बेला कुरा गर्न आइपुग्नुभएकी सुष्मा भने निकै रिसाएको मुडमा रहेको सुनाउनुहुन्छ कृष्णहरि । आफू जति रिसाए पनि बराल सर भने निकै शान्त स्वभाव भएका कारण आफू प्रभावित भएको शुष्माको भनाइ छ । उहाँले भन्नुभयो, ‘फर्किँदै गर्दा बाटोमा मलाई बराल सरसँग अनाहकमा रिसाएँ भन्ने जस्तो लाग्यो ।’ आफूले प्रायःजसो सुनिरहेको र मनपराएको गीत ‘म भक्त हुँ यो देशको’ जस्तो गीतको रचनाकार बराल सर भएको पहिले थाहा भएका कारण पनि उहाँको बानीबाट त्यस भेटपछि झन् प्रभावित भएको सुष्मा सम्झना गर्नुहुन्छ । उता बराल सर पनि सुष्माको निर्भीक र स्पष्टवक्ता स्वभावका कारण आकर्षित हुनुभएको रहेछ । त्यसपछि पारिवारिक कारणले पनि उहाँहरुबीच भेटको वातावरण सृजना गरायो । तर, सुष्मा भने कलिलै उमेरमा राजनीतिक चेतले भरिपूर्ण हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनको सो समयमा उहाँ विभिन्न क्याम्पसमा धर्ना दिन पुग्नुहुन्थ्यो । यही क्रममा एकपटक जेल पनि पर्नुभयो । यता, बराल सरले भने विवाहका लागि सुष्माका आमाबुबालाई चिठ्ठी लेख्नुभयो । जब सुष्मा घर जानुभयो, तब उहाँलाई बराल सरले चिठ्ठी पठाउनुभएको कुरा आमाले सुनाउनु भयो । राजनीतिमा नलाग्न सम्झाइबुझाइका लागि होला भन्ने ठान्नुभएकी उहाँलाई त्यतिबेला अचम्म लाग्या,े जतिबेला उहाँले विवाह प्रस्तावका लागि चिठ्ठी पठाएको भन्ने यथार्थ थाहा भयो । कम उमेर भएकै कारण केही आनाकानी गरे पनि पछि पारिवारिक सहमतिमै उहाँहरु वैवाहिक जीवनमा बाँधिनुभयो ।

विवाहपछि कीर्तिपुरमा बस्न थालेपछि सुष्माले पनि ल्याबोरेटरी विद्यालयमा नै अध्यापन थाल्नुभयो । तर, राजनीतिक गतिविधि क्रमशः कम हुँदै गयो । पछि उहाँ पाटन क्याम्पस र ताहाचल क्याम्पसमा पनि अध्यापन गराउन थाल्नुभयो । यहीबीचमा बराल सरले पनि नेपालमा एमए पढाइ सम्पन्न गर्नुभयो, त्यसपछि सरकारी क्याम्पसहरुमा अध्यापन गराउन थाल्नुभयो र पछि त्रिभुवन विश्वविद्यालयमा पनि प्राध्यापन गराउनुभयो । तर, यो बीचमा व्यस्तताका कारण एक अर्कालाई धेरै समय दिन सकिने अवस्था थिएन । त्यो बेलामा सुष्माका लागि थुप्रै गीतहरु लेखेको पनि बराल सरले जानकारी गराउनुभयो ।
एक छोरा र दुई छोरीसहितको यो जोडीबीच कहिले पनि मनमुटाव र एकअर्कालाई आशंका गर्नुपर्ने अवस्था आएन । सुष्मा भन्नुहुन्छ, ‘उहाँले आफ्नो कामको बारेमा पहिले नै जानकारी गराउने र मैले पनि आफ्नो कामबारे पहिले नै जानकारी गराउने भएकाले पनि हामीबीच कहिले असमझदारी आएन ।’ अमेरिका भ्रमणको बेलामा दुर्घटनामा परेको घटनालाई भने यो जोडी जीवनकै तीतो क्षणका रुपमा लिन्छ । बराल सरको इमानदारी, नआत्तिने, मेहनती र शान्त स्वभाव सुष्मा मन पराउनुहुन्छ भने सुष्माको निर्भीक तथा स्पष्ट बोल्ने बानी बराल सरलाई प्रिय लाग्छ ।
विवाहको ३७ वर्ष बितिसक्दा पनि वैवाहिक जीवन रसिलो र हसिलो हुनुमा यो जोडी एकअर्कापतिको प्राकृतिक माया, विश्वास र समझदारी हो भन्ने ठान्छ । बराल सरको नजरमा विकासानन्दले भनेझैं प्रेम प्रकृति हो भने विवाह संस्कृति हो । यी दुवैको मिलन भयो भने जीवन सफल हुन्छ । साथै, एकअर्कोप्रतिको विश्वास सफल सम्बन्धको आधार पनि हो । सुष्मा भने विवाहलाई सम्झौता ठान्नुहुन्छ । यो सम्झौतामा महिला–पुरुष दुवैले इमानदारीका साथ पालना गर्न सके वैवाहिक जीवन सफल हुने उहाँको धारणा छ । अहिले एकअर्कोलाई आफू ठूलो हुँ भन्ने घमण्ड र कमजोरीलाई स्वीकार्न नसक्ने प्रवृत्तिका कारण पनि सम्बन्धविच्छेदका समस्या बढ्न थालेको उहाँको ठम्याइ छ । पारिवारिक सम्बन्धलाई सन्तुलनमा राखेर एकअर्कोप्रति विश्वास र समझदारीका साथ अगाडि बढ्नुपर्ने यो जोडीको सुझाव छ


















