काठमाडौं । मेगा बैंक आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा सोमबार काठमाडौंमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमा बैल्दै अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रूपमा देशकै दोस्रो ठूलो बैंकका रूपमा स्थापित हुन सक्नु मेगा बैंकको सफलता भएको जनाउँनु भएको छ । चुक्ता पुँजी, व्यावसायको आकार, कर्मचारी संख्या र नेटवर्कका हिसाबले पनि मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको छ । चालू आर्थिक वर्ष ०७५÷७६ देखि मेगा बैंकको मुनाफामा निकै वृद्धि हुने शाहले उल्लेख गर्नुभएको छ । अध्यक्ष शाहले भने, “हामीले भर्खरैमात्र टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर सकेका छौं । मर्जरपछि साधारणसभामार्फत नयाँ सञ्चालक समिति पनि आएको छ । अब मेगा कल्चरअनुसार नै हामी रफ्तार बढाउँछौं । टुरिजम र पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएपछि मेगा बैंकमा झनै उत्साह थपिएको मैले पाएको छु ।”
अध्यक्ष शाहले आगामी चार वर्षभित्र बैंकको आफ्नै कर्पोरेट भवन बनाउने जानकारी दिए । यस्तै, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा बैंक नेपालको बैंकिङ क्षेत्रमा उत्कृष्ट ब्रान्डका रूपमा स्थापित भएको जनाएकी छिन् । वार्षिकोत्सवको अवसरमा सीईओ खुञ्जेलीले तीनवटा आकर्षक कर्जा योजनाहरू पनि सार्वजनिक गरेकी छिन् । साना तथा मझौला व्यवसायको प्रबद्र्धनका लागि ‘मेगा साना तथा मझौला कर्जा’, आवास तथा गाडी लिन चाहने मध्यमवर्गीय नेपालीका लागि ‘मेगा घर तथा गाडी कर्जा’ र विभिन्न पेसा व्यवसायमा संलग्नहरूलाई बिनाधितो ऋण प्रदान गर्ने गरी ‘मेगा प्रोफेसनल लोन’ योजना सार्वजनिक गरिएको छ । यी तीनवटै कर्जा योजनाहरू ग्राहकले मेगा बैंकको जुनसुकै शाखाबाट प्रक्रिया सुरु गर्न सक्ने छन् । उक्त प्रक्रिय २४ घण्टाभित्रै निर्णय गरिने र ७ दिनभित्र कर्जा प्रवाह गरिने सीईओ खुञ्जेलीले जनाएकी छिन् ।
















