काठमाडौ, भदौ २४ । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेट भएको छ । भेटमा पछिल्लो समय भएका दुई प्रधानमन्त्रीका भ्रमणहरु, बिम्स्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावना बारे छलफल भएको छ ।
नेपालमा हाइड्रो इनर्जीको विकास, हुलाकी मार्गको निर्माण, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको बिषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक वृहत्तर सर्किट बनाउने तथा एभरेष्टको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो । त्यसैगरी नेपाल भारत सीमामा रहेका समस्याहरुको समाधानका सम्बन्धमा पनि छलफल भयो । सीमा क्षेत्रमा भन्सारहरुको स्तरउन्नतीको बिषयमा पनि चर्चा भएको थियो ।
दुई देशको आपसी हित कसरी सुदृढ गर्ने भन्ने बिषयमा छलफल गर्दै पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारीहरु र सहमतिहरुलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने बारेमा छलफल भएको थियो ।
दाहालले कास्की जिल्लामा पोलिटेक्निकल इस्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने भन्ने बिषयमा पनि ठोसरुपमा कुराकानीहरु गरेका थिए । दुबै नेताहरुबीच झण्डै एक घण्टा छलफल भएको थियो ।
अध्यक्ष दाहालले भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग पनि भेट गरेका छन् । त्यस्तै भारतीय काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग पनि शनिबार दिँउँसो भेटवार्ता भएको थियो । भेटमा मनमोहन सिंह प्रधानमन्त्री भएका बेलामा भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउन उनको नेतृत्वको सरकारबाट भएको सहयोगप्रति दाहालले धन्यवाद दिएका थिए ।















