-कृष्ण बेल्वासे
भर्खरै काठमाण्डौमा युनिभर्सल पिस फेडरेशन नामक क्रिश्चियन संस्थाको आयोजनामा एशिया प्यासिफिक सम्मेलनको नाममा क्रिश्चियनहरुको अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको र त्यसमा कथित नेकपाका नेताहरु र सरकारका प्रम एवं मन्त्रीहरुको सहभागिता रहेको कुरा अझ सम्म जन समुदायबीच व्यापक चर्चा र आलोचनाको विषय बनिरहेको छ ।
उक्त सम्मेलनमा ती कुपात्रहरुको सहभागिताको आलोचना हुनुको मुल कारण देशलाई संवंैधानिक रुपमा धर्म निरपेक्ष घोषणा गर्ने, तर उक्त ब्यवस्था बिपरित देशमा इसाई धर्मको प्रबर्द्धन गर्न सरकारमा पुगेको पार्टीका नेता र सरकार समेत लाग्नु धर्म निरपेक्षता बिपरित ब्यवहार भएको र सम्मेलन आयोजन गर्न सरकारी साधन श्रोत एवं राष्ट्रिय सम्पत्तिको दुरुपयोग संगै सम्मेलनका क्रममा सर्वसाधारणले निकै दुस्ख सास्ती खेप्नु परेकोले गर्दा हो ।
सरकार संचालक पार्टी एवं नेताहरुले यस किसिमको व्यवहार प्रदर्शन गर्दा जनताको तर्फबाट आलोचना र आक्रोश ब्यक्त हुनु बिल्कुलै स्वाभाविक कुरा हो । जनताको तर्फबाट यस किसिमको असन्तुष्टि प्रकट भइरहंदा कथित नेकपा प्रति प्रतिबद्ध बौद्धिकहरु मध्ये निकै थोरैले जनताको पक्षमा अभिब्यक्ति दिए । तर जब सम्मेलन आयोजक संस्थाबाट यस अघि आयोजित सम्मेलनहरुमा अन्य पार्टीका नेता एवं ती पार्टीको तर्फबाट निर्वा्चित पदाधिकारीहरु समेत सहभागी भएका प्रमाणहरु सार्वजनिक हुँदै गए, कथित नेकपाका बौद्धिक दासहरुको वाक्य फुट्यो ।
तिनीहरुले आफ्ना नेताहरुलाई चोख्याउने प्रयास स्वरुप उक्त संस्थाको तर्फबाट यस अघि आयोजित यसै किसिमका कार्यक्रमहरुमा अन्य पार्टीबाट निर्वा्चित प्रम एवं पदाधिकारीहरु सहभागी हुंदा त्यसको बिरोध न हुने, नेकपाका अध्यक्ष एवं प्रम ओली सहभागी हुँदा मात्र बिरोध हुने कुरा पुर्वाग्रही र प्रमलाई बदनाम गर्ने कार्य हो भन्ने जस्ता टिप्पणीहरु सार्वजनिक गरिरहेका छन् । स्मरण रहोस् यस अघि राष्ट्रपति बिद्यादेवी भण्डारीलाई १६ करोडको गाडि खरिदगर्ने कुरो प्रचारमा आइरहेका बेला नेकपाका बौद्धिक दासहरु मध्ये निकै थोरैले उक्त कुरोको बिरोध गरेका थिए । तर जब उक्त गाडि किन्ने निर्णय कांग्रेशी सरकारको पालामा भएको थियो भन्ने कुरा सार्वजनिक भयो, तब बौद्धिक दासहरु निर्णय त पहिल्यै भएको रहेछ । हाम्री राष्ट्रपति र हाम्रो सरकारलाई त्यत्तिकै बदनाम गरियो भन्ने प्रतिक्रिया सहित देखा परे । यो सबै देख्दा बौद्धिक दास र तिनका मालिकहरु दुबै प्रति दया लागेर आउंछ । कारण, यदि ती बौद्धिक भनाउँदाहरु दास थिएनन् भने तिनीहरुले नेपाली जनताका आकांक्षाहरुमा तुषारापात गर्दै महंगा गाडि किन्ने निर्णय र त्यस्ता गाडि चढ्ने जमर्को गर्ने जनबिरोधि लुटाहा जो भए पनि एकै लवजमा विरोध गर्ने सामर्थ्य राख्नुपर्दथ्यो ।
अनि आफ्ना निहित स्वार्थपुर्तिका लागि देशलाई इसाईक रण गर्ने अभियानमा जो सुकै, जहिलेसुकै र जुन भूमिकामा सहभागी रहेको भए पनि एकै रुपमा लिंदै एउटै स्वरमा बिरोधगर्न सक्नु पर्दथ्यो । तर त्यसो न गरेर आफ्नो नेताले गरेको गल्तीको किन आलोचना गरिया ? अर्कोले पनि त्यही काम गरेको रहेछ भन्ने तर्क गर्न पुग्नु कायरता हो । यो भाटगिरीको चरम नमूना हो । कायर, भाट एवं विदेशी दलालहरु कुनै अर्थमा बौद्धिक हुन सक्दैनन् । त्यति मात्र न भएर त्यस्ताले स्याल हुइय्याँ मच्चाउने बाहेक आफ्ना मालिकहरुलाई परेको बेला सही सल्लाह दिने सामर्थ्य र हैसियत समेत राख्र्दैनन् । ती बुद्धिजिवी को नामंमा कलंक हुन् । बौद्धिक दास र तिनका मालिक दुबैलाई समयमै चेतना भया !


















