काठमाडौं / जानेर होस् वा नजानेर होस् अथवा चाहेर होस् वा नचाहेर नेपाली कांग्रेसले नेपालका कम्युनिष्टहरूलाई महत्वपूर्ण अवसर प्रदान गर्दै आएको छ । नेपाली कांग्रेसले पटक–पटक सरकारको नेतृत्व गर्न पाउँदा पनि देश र जनताको हितमा राम्रो काम गर्न नसकेकै कारण नेपाली जनताले नेपाली कांग्रेसलाई किनारा लगाएर सजाय गरेका छन् । तर नेपाली जनताबाट मात्र नभई नेपाली कांग्रेसबाट समेत राम्रो काम गर्ने राजनीतिक शक्ति भनेर विश्वास गरिएका नेपालका कम्युनिष्ट पार्टीहरू दुईतिहाइ बहुमतको हैसियतमा सरकार सञ्चालन गर्न पुग्दा पनि कुहिरोमा हराएका काग जस्ता भएका छन् । गत वर्ष सम्पन्न तीन चरणको निर्वाचनमा कम्युनिष्टहरूलाई प्राप्त भएको मतको आधारमा नेपालले विकासको ठूलो छलाङ लगाउने अनुमान गरिएको थियो ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना देखिनै विकास, समृद्धि र सुशासनको वकालत गर्दै आएका कम्युनिष्टहरू सत्तामा पुगेपछि मुुलुकले ठूलै उपलब्धि हासिल गर्ने आम अनुमान थियो । संसदीय निर्वाचनमा समेत कम्युनिष्टले सहजै बहुमत ल्याएपछि वातावरण कम्युनिष्टहरूको अनुकूल पनि बनेकै हो ।
एकातर्फ कम्युनिष्टहरू सहज बहुमत सहित सत्ताको नेतृत्व गरिरहेको अवस्था अर्काेतर्फ नौ महिना सरकारको नेतृत्व गर्दा विकास र समृद्धिको कुराले चर्चा कमाएका प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली सरकारको नेतृत्वमा पुगेको अवस्था, यी दुवै कुराले नेपाली जनतामा ठूलो आशा, भरोसा र विश्वास पलाएको थियो वर्तमान सरकारसँग । लामो समयदेखि सत्ताको बागडोर सम्हालिरहेको नेपाली कांग्रेसले जनताको हितअनुसार काम गर्न नसक्दा नेपाली जनतामा चरम निराशा, असन्तुष्टि र आक्रोश पनि थियो । मुलुकले निरन्तर विकासको गतिलाई समेत समाउन सकिरहेको थिएन । यस्तो अवस्थामा जनताको मत कम्युनिष्टप्रति आकर्षित हुनु स्वाभाविक थियो । जनता त के प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि काम गर्ने वातावरणका हिसाबले वर्तमान कम्युनिष्ट सरकारले केही गर्छ कि भन्ने अपेक्षा राखेको कुरा उसका पार्टीगत निर्णयहरू सार्वजनिक भएबाट पनि स्पष्ट हुन्छ ।
भलै कांग्रेसले लामो समय सत्ताको नेतृत्व गर्ने अवसर पायो, तर अहिले जस्तो सहज वातावरण कांग्रेसलाई पनि प्राप्त भएको थिएन । त्यसैले वर्तमान सरकारसँग जनताको मात्र नभएर विपक्षी र विरोधी शक्तिको समेत मुलुक र जनताप्रतिको अपेक्षा थियो । पछिल्लोपटक सरकार बनेको नौ महिनाभन्दा बढी समय हुन लाग्दा ती अपेक्षा, भरोसा र विश्वास विस्तारै टुट्न थालेका छन् । जनताले मात्र होइन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत वर्तमान सरकारप्रतिको आफ्नो आशा र अपेक्षा पूरा हुन नसकेको अभिव्यक्ति दिन थालेको अवस्थाले यही संकेत गर्छ । स्वाभाविक रूपमा प्रतिपक्षीको भूमिका आलोचक नै हुन्छ, तर वर्तमान सरकारसँग प्रतिपक्षीले आलोचनाका हिसाबले मात्र नभएर अपेक्षाका हिसाबले पनि हेरेको कांग्रेसले हालै तयार पारेको राजनीतिक मस्यौदामा उल्लेख गरेबाट स्पष्ट हुन्छ । वर्तमान सरकारको कामकारबाही हेर्दा यो सरकार कांग्रेसले नेतृत्व गरेको सरकारभन्दा पनि कमजोर मनस्थितिले अघि बढिरहेको देख्न र महसुस गर्न सकिन्छ । वर्तमान सरकारको काम गर्ने शैलीले प्रधानमन्त्री केपी शर्मा ओली, उनले नेतृत्व गरेको मन्त्रिमण्डलका सदस्य र उनी अध्यक्ष रहेको नेकपालाई मात्र होइन, नेपालको समग्र कम्युनिष्ट आन्दोलनप्रति नै जनताको वितृष्णा बढ्न थालेको छ । यदि कम्युनिष्ट नेतृत्वको यो सरकारको यस्तै रवैयाले निरन्तरता पायो र सरकार विकास, समृद्धि र जनपक्षीय काममा चुक्दै गयो भने यसको प्रभाव तत्कालका लागि मात्र होइन, नेपालबाट धेरै लामो समयका लागि कम्युनिष्ट शक्ति कमजोर भएर जाने निश्चित देखिन्छ ।
७० वर्षदेखि निरन्तर संघर्ष गर्दै हाल आएर सत्ता र शक्तिको चुचुरोमा पुगेका कम्युनिष्टहरू वर्तमान सरकारको कार्यशैलीका कारण सदाका लागि कमजोर भएर जाने त्रास बौद्धिक जगतमा पाइन्छ । यदि जनता र मुलुकका पक्षमा काम गर्न नसक्ने हो भने निर्वाचनमा विजयी भएर मात्र केही हुँदैन भन्ने कुरा नेपालको विगतको राज्य सञ्चालन गर्ने प्रवृत्ति र छिमेकी मुलुक भारतमा भाजपाको विजय पश्चातका मोदी सरकारको अलोकप्रियताले पनि देखाइसकेको छ ।
निकै ठूला सपना र अपेक्षासहित भारतीय जनताले सत्ताको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो समय उनको काम गर्ने शैलीका कारण आलोचित मात्र नभएर कमजोरसमेत हुँदै गएका छन् । त्यो एउटा महत्वपूर्ण उदाहरण अहिले नेपालका कम्युनिष्ट र विशेष गरी सत्ताको नेतृत्व गरेका प्रधानमन्त्री ओलीका लागि हुनसक्छ । सत्ताको नेतृत्व गर्ने अवसर सबैलाई मिल्दैन र सधैं पनि मिल्दैन । यो एउटा संयोगले मिल्ने अवसर मात्र हो । तर सत्तामा पुगेपछि काम गर्ने कुरा संयोग वा अवसर मात्र नभएर क्षमता प्रर्दशन र पुष्टि गर्ने अवसर पनि हो । त्यो अवसर प्रधानमन्त्री ओलीले पाइरहेका छन् । तर उनले आफ्नो क्षमतालाई पुष्टि भने गर्न सकेका छैनन् ।
नेपालमा नाकाबन्दी गर्ने भारतीय प्रधानमन्त्री मोदीको स्वागतमा गरिएको तामझाम, अहिले जनकपुरमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ को स्वागतमा गरिएको तामझाम, नेपाल वायु सेवा निगमको वाइडबडी खरिद प्रकरणमा भएको त्रुटि, सरकारले नै कारबाही गरेका नेपाल दूरसञ्चार प्राधिकरणमा दिगम्वर झाको पुनर्नियुक्ति, निर्मला पन्तका हत्यारालाई कारबाही गर्न नसक्नु, चीनको हुवाय कम्पनी विरुद्ध अमेरिकाले चुनौती दिइरहेका बेला नेपाल सरकार पनि हुवाय कम्पनीको विरुद्ध प्रस्तुत हुनु, एनसेल प्रकरणलाई ज्वाँइ पालेसरह लुट मच्चाउन दिनुु, सुनतस्कर र यातायात माफियाका विरुद्ध कुनै कारबाही अगाडि बढाउन नसक्नु, शिक्षा, स्वास्थ्य र बैंक तथा वित्तीय क्षेत्रमा लुट मच्चाउने छुट दिएर जनतामाथि करको भार थोपर्नु अनि मिडियामाथि आक्रामक हुनु ! यस्त विषयले सरकारको लोकप्रियता झनपछि झन खस्किदै गइरहेको छ र जाने निश्चित छ ।


















