काठमाडौं/थाइल्यान्डमा सम्पन्न १०औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेर इतिहास रचेका महेश्वर महर्जनलाई भब्य स्वागत गरिएको छ ।
७५ केजी तौल समूहमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएका महेश्वर मंगलबार स्वदेश फर्किएका थिए। उनलाई स्वागत गर्न समर्थक तथा सुभेच्छुकसँगै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना पनि विमानस्थल पुगेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महेश्वरले स्वर्ण पदक जित्दाको क्षण बयान गरिनसक्नुभएको बताए । ‘राष्ट्रको नाम उच्च बनाउन पाउँदा म निकै भावुक बनेँ । सबैको साथ र सहयोगले यहाँसम्म पुग्न सफल भएको हो’ उनले भने, ‘पुरानो राष्ट्रिय गीत बजेपनि छोरा त म नेपालीकै हो । त्यो बेलामा धेरै कुरा मनमा खेलिरहेको थियो ।’
यो पनि पढ्नुहोस
उहाँका अनुसार प्रतियोगिताकै लागि करिब ६ महिनादेखि अभ्यास गरेका थिए भने ७र८ लाख खर्च भएको थियो । उनले भने, ‘सरकारले मलाई निकै सहयोग गरेको छ । आउने पिँढीहरुलाई झनै राम्रो बनाए राम्रो नतिजा ल्याउन सकिन्छ ।’
नेपाल शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले उनलाई स्वागत गर्दै राष्ट्रले महेश्वरको योगदानलाई उचित सम्मान गर्नुपर्ने बताउनु भयो । ‘स्वर्ण पदक विजेता महेश्वर श्रेष्ठलाई नगद तीन लाख दिने घोषणा यसअघि गरेको छु र दिनेछु । उनले संघको मात्रै हैन सिंगो देशको नाम उच्च बनाएको छ ।’
उपाध्यक्ष तिम्सिनाले राखेपले उनको योगदानको कदर गर्ने भन्दै पुरस्कार दिन सरकारलाई आग्रह गरे । उनले भने, ‘उहाँले देशको नाम उच्च बनाउनु भएको छ । नेपाल सरकारसमक्ष हामी उचित सम्मानको लागि आह्वान गर्छौं ।’


















