चितवन / पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको जनाउनु भएको छ ।
पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकलाई आज यहाँ बोल्दै विकास निर्माणमा हामी सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको जनाउनुभयो । सोमबार मात्रै पनि सत्तापक्ष र विपक्षीका नेताको गम्भीर बैठक बसेर सहमति गरेको बताउँदै उहाँले भन्नुभयो ‘तपाईहरु के नठान्नुहोला भने माथि खिचातानी छ कि भन्ने तर त्यसो होइन ।’
अध्यक्ष दाहालले भन्नुभयो,’राष्ट्रिय मुद्दामा मिलेर काम गर्ने बारेमा प्रधानमन्त्रीजीको अध्यक्षतामा शेरबहादुरजी, म लगायत वरिष्ठ नेताको महत्वपूर्ण बैठक बसेर राष्ट्रिय मुद्दामा समझदारीका साथ जाने कुरा भएको छ ।’ जिल्ला तहमा पनि जनप्रतिनिधि एक ठाउँमा बसेर पुनःनिर्माण र विकासका मुद्दामा छलफल गर्न उहाँले सुझाव दिनुभयो । अध्यक्ष दाहालले भूकम्प प्रभावितलाई ऐलेनी र वनको जग्गामा पुनःनिर्माणमा परेको समस्या समाधान गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने बताउनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहसँग समन्वय गरी अघि बढ्न पुनःनिर्माणका अधिकार स्थानीय तहमा प्रत्यायोजन गर्न लागिएको जनाउनुभयो । दुई वर्षपछि प्राधिकरण नहुने भन्दै यसले हासिल गरेका अनुभवलाई स्थानीय तहमा पु¥याउन लागिएको उहाँले जनाउनुभयो । पुनःनिर्माणको काम स्थानीय तहमार्फत हुँदा दिगो हुने उहाँले जनाउनुभयो ।
बैठकमा हालसम्म प्राधिकरणले जिल्लामा गरेका कामका विषयमा प्राधिकरणका कार्यकारी सदस्य हरिराम पराजुली र जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय भरतपुरका आयोजना व्यवस्थापक पुष्करप्रसाद पोख्रेलले प्रकाश पार्नुभएको थियो । गोर्खा भूकम्पले जिल्लाका सात हजार ३३५ घरधुरीमा क्षति पु¥याएको थियो।


















