महेन्द्रनगर / प्रमुख राजनितिक दलका भातृ संगठनहरुले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार बन्द गराएका छन् । बिहानैदेखि बजार बन्द हुँदा बजार क्षेत्रमा मानिसको चहलपहल कम देखिएको छ ।
नगर विकासको जग्गा कब्जा गरी बनाइएका अवैध संरचना हटाउनु पर्ने माग गर्दै भातृ संगठनहरुले पुर्व घोषित दवाव कार्यक्रम स्वरुप शनिवार महेन्द्रनगर बजार बन्द गरिएको हो ।
नगर विकास समितिको जग्गामा प्रक्रिया मिचेर अवैधानिक तरिकाले निर्माण कार्य भइरहेको भन्दै भातृ संगठनहरु आन्दोलित भएका छन् ।
नेकपा ( क्रान्तिकारी माओवादी ) को भातृ संगठन अनेरास्वयु ( क्रान्तिकारी ) का केन्द्रिय सदस्य केशब साउदले भने, ‘हामी निरन्तर दवावमूलक कार्यक्रममा छौँ, आज बजार बन्दको आह्वान गरिएको छ ।’
भूमाफियाहरुले लिजको नाममा सरकारी जमिनमा कब्जा जमाएको भन्दै संगठनहरुले सरकारले लिजप्रकरणबारे ध्यान नदिएकोप्रति घोर आपत्ति जनाएका छन् । नेता साउदले यसमा संलग्न सबैलाई कारबाही गरि अवैध संरचना तत्काल भत्काउन समेत माग गरेका छन् ।
भातृ संगठनहरुका अगामी आन्दोलनका कार्यक्रमहरुमा २ माघमा दुई घण्टा कञ्चनपुरको यातायात सेवा बन्द, ४ माघमा विद्युत प्राधिकरण कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने, ६ माघमा भीमदत्त नगरपालिकामा धर्ना, ८ माघमा महेन्द्रनगरमा खुला बहस र १० माघमा राँके जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएका छन् ।


















