काठमाडौं / पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधीर रजौरेका अनुसार चिनियाँ टोली सन् २०१९ को मे मध्यतिर पेट्रोलियम खानीको उत्खनन् अध्ययन गर्न नेपाल आउने तयारी गरेको छ ।
देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको र पादुका क्षेत्रमा निरन्तर बलिरहेको प्राकृतिक ग्याँसको उत्खनन तथा अन्वेषण अगाडि बढ्ने जानकारी पाएका नागरिक सरकारको कदमसँगै एकाकार भएर खुसी व्यक्त गरे ।
तर, सरकार परिवर्तन भएपछि अन्वेषण तथा अध्ययनको काम अगाडि बढ्न नसकिरहेको अवस्थामा गत १६ फागुनमा बिहीबार चीनमा खानी अन्वेषण कार्यान्वयन गर्नेसम्बन्धी खानी तथा भूगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेसँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर भयो ।
सुरुको समझदारीअनुसार काम भएको भए यतिखेर नेपाली भूभागभित्र के कति मात्रामा पेट्रोलियम पदार्थ छ र आर्थिक रूपमा त्यस्ता खानी सञ्चालनमा ल्याउन सम्भव हुन्छ कि हुँदैन ? भन्ने समेत पत्ता लागिसक्थ्यो । ढिलै भए पनि चीनको चाइना जिओलोजिकल सर्भेको टोली नेपाल आउन लागेको छ । सो टोलीले दैलेखको पादुका क्षेत्रमा अध्ययन गर्नेछ।
















