काठमाडौँ / समाचार लेखेको कारण साइबर अपराध सम्बन्धी कसुरमा प्रहरीले कास्कीबाट सञ्चालित ताण्डव न्यूज डटकमका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरी हिरासतमा राखेको छ । यस घटनाप्रतिपत्रकारहरुले विरोध प्रर्दशन गरेको छ । अनलाइनमा प्रकाशित समाचारको विषयमा उजुरी परेको आधारमा उनलाई प्रहरीले पोखराबाट पक्राउ गरी काठमाडौं ल्याएको हो । अनलाइन पत्रकार संघको अगुवाईमा माइतीघरमा गरिएको प्रदर्शनमा प्रेससँग सम्बन्धित विभिन्न संघ संस्थाले साइबर अपराध सम्बन्धी ऐनको पत्रकारमाथि दुरुपयोग गरिएको भन्दै त्यसको खारेजीको माग गरेका छन् ।
पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी विपरीत पत्रकारमाथि धरपकड भइरहेको जानकारी दिए । उनले साइबर अपराध सम्बन्धी ऐन पटक पटक पत्रकार विरुद्ध प्रयोग गरिनु गलत भएको भन्दै उक्त ऐनको खारेजीको माग गर्दै पक्राउ परेका पत्रकारलाई बिनासर्त तत्काल रिहाईको माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले पक्राउ परेका पत्रकार गिरी तत्काल रिहाई नभए देशैभर पत्रकारहरु प्रदर्शनमा उत्रिने चेतावनी दिनु भयो ।
प्रेस सेन्टरका गणेश बस्नेतले समाचार लेखेकै आधारमा पत्रकारहरुमाथि भइरहेको धरपकड रोक्न सरकारको ध्यानाकर्षण गराए । उनले यस्तो क्रम नरोकिए पत्रकारहरु थप आन्दोलित हुने उल्लेख गरेका छन् । प्रेस युनियनका सल्लाहकार शिव लम्सालले बैंकिङ्ग अपराध नियन्त्रणका ल्याइएको साइबर अपराध ऐनलाई सरकारले पत्रकारमाथि प्रयोग गरिरहेको प्रति विरोध गर्दै उक्त ऐन खारेजीको माग गरेको छ।


















