काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रता कुण्ठित नहुने गरी कानुन निर्माणमा सहयोग गर्ने जनाउँदै प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउने जनाएका छन् ।
आइतबार नेपाल पत्रकार महासंघको १६ बुँदे ध्यानाकर्षणपत्र बुझ्दै प्रचण्डले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सरकार र आफ्नो पार्टी प्रतिवद्ध रहेको जनाउँदै संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ र अब कानुन बनाउने बेलामा पनि सम्वन्धित सरोकारवालासँग छलफल गरेरै गर्नुपर्नेमा जोड दिने जानकारी दिए ।
अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेस नै भएको जनाउँदै प्रचण्डले भने – ‘हामीले उठाएका मुद्दाहरु जनतासम्म पु¥याउने कुरामा पत्रकार महासंघले सस्थागतरुपमा र समग्र प्रेसले भूमिका खेलेको नभए म यहाँ हुने थिइनँ,’ प्रचण्डले भने, ‘यस अर्थमा म अहिले जहाँ छु पत्रकार र प्रेसकै कारण भएको हुँ ।’
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, प्रेसमैत्री कानुन निर्माणलगायतका १६ बुँदा समेटिएको ध्यानाकर्षण पत्र प्रचण्डलाई बुझाएका छन् ।


















